निर्वाचनलाई मध्यनजर गर्दै आयोगले लेख्यो गृहलाई यस्तो पत्र

काठमाडौं । सरकारले घोषणा गरेको स्थानीय तहको चुनाव अवधिभर मदिरा उत्पादन तथा वितरण गर्न नपाइने भएको छ । ०७४ बैशाख ३१ गते हुने निर्वाचनलाई मध्येनजर गर्दै निर्वाचन आयोगले गृह मन्त्रालयललाई पत्रचार गर्दै यस्तो पत्र लेखेको छ ।
विस्फोटक पदार्थ वा रासायनिक पदार्थ वा विषालु पदार्थ वा लाठी, भाला खुकुरी बन्दुक, पेस्तोल वा त्यस्तै प्रकारका अन्य हातहतियार लिएर हिंडन, प्रदर्शन गर्न नपाउने गरी नियन्त्रण गर्न पत्रमा लेखिएको छ । त्यस्तै निर्वाचन विथोल्न सक्ने आपराधिक चरित्रका शंकास्पद व्यक्तिहरूलाई प्रहरी निगरानीमा राखी आवश्यकता अनुसार नियन्त्रण गर्ने पनि पत्रमा उल्लेख गरिएको छ ।
पत्रचारको केही अंश यस्तो छ
कानून बमोजिम हातहतियार लिन पाउने बाहेक अन्य कुनै पनि व्यक्तिले कुनै प्रकारको विस्फोटक पदार्थ वा रासायनिक पदार्थ वा विषालु पदार्थ वा लाठी, भाला खुकुरी बन्दुक, पेस्तोल वा त्यस्तै प्रकारका अन्य हातहतियार लिएर हिंडन, प्रदर्शन गर्न, प्रयोग गर्न वा गराउन नपाउने गरी नियन्त्रणको व्यवस्था मिलाउने ।
कानून बमोजिम अनुमति प्राप्त गरेका व्यक्तिका नाममा रहेको बन्दुक, पेस्तोल जस्ता हातहतियार निर्वाचन अवधिभर सम्बन्धित जिल्ला प्रशासन कार्यालयको मातहतमा राख्ने व्यवस्था मिलाउने ।
निर्वाचन अवधिभर अवैध मदिरा तथा मदिराजन्य पदार्थको उत्पादन र विक्रि वितरण कार्यमा पूर्ण बन्देज लगाउने गरी विशेष व्यवस्था गर्ने ।
केही सार्वजनिक अपराध र सजाय ऐन, २०२७ को व्यवस्था बमोजिम निर्वाचन विथोल्न सक्ने आपराधिक चरित्रका शंकास्पद व्यक्तिहरूलाई प्रहरी निगरानीमा राखी आवश्यकता अनुसार नियन्त्रण गर्ने ।










