जब बालुवाटारमा प्रचण्ड र केपी ओलीले शेरबहादुर, वर्षमान र रवीन्द्रका अगाडि गरे ‘हल्का रमाइलो

काठमाण्डौँ । गत ४ फागुनको बिहान प्रमुख तीन दल काँग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेता र ती दल सम्वद्ध विद्यार्थी संगठनका अध्यक्षहरुको प्रधानमन्त्री निवास बालुवाटारमा संयुक्त बैठक थियो ।
बैठकको संयोजन गरेका थिए प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले । बिहान ८ः३० बजेका लागि बैठक बोलाइएको थियो । बैठकमा काँग्रेसबाट सभापति शेरबहादुर देउवा, शेरबहादुर, गोविन्द घिमिरे र नेविसंघ अध्यक्ष नैनसिंह महर, माओवादी केन्द्रबाट पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री, वर्षमान पुन, हितमान शाक्य, प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्ल र अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने थिए ।
एमालेबाट भने विद्यार्थी इन्चार्ज रवीन्द्र अधिकारी र अखिल अध्यक्ष नवीना लामा मात्रै बालुवाटार पुगे । यस्तै त्रिभुवन विश्वविद्यालयमा उपकुलपति तीथ्र खनियाँ, रेक्टर सुधा त्रिपाठी र रजिष्ट्रार डिल्लीराम उप्रेती थिए । बोलाइएका सबै बालुवाटारमा जम्मा भए । तर, एमाले अध्यक्ष केपी ओलीको पत्तो थिएन । ओलीलेढिला गरेपछि काँग्रेस सभापति देउवा ‘अरु नै कार्यक्रममा जानुपर्ने, ढिला भयो’ भनिरहेका थिए । आँखा बारम्बार घडीतिर पु¥याएरहेका थिए । एमाले युवा नेता अधिकारीले देउवा रिसाएको बुझेपछि उनलाई शान्त पार्न ‘प्रायःजसो कार्यक्रमा अध्यक्षज्यूको अली ढिलै पुग्ने बानी छ ।’ ओलीका सहयोगीलाई प्रधानमन्त्री पुत्र एवं स्वकीय सचिव प्रकाश दाहालले फोन गरिरहेका थिए ।
‘बालकोटबाट हिंकिसक्नुभयो रे, अब १० मिनेटजतिमा आइपुग्ने कुरा छ ।’ प्रकाशले यस्तो भनेको आधा घण्टापछि अर्थात निर्धारित समयभन्दा ४५ मिनेटपछि सवा नौ बजेतिर ओली बैठक पक्षमा प्रवेश गरे । कालो ओभरकोट लगाएका ओली ढोकैमा उभिएर मुसुक्क हाँसे । सबैलाई नमस्कार गरे । ओलीको सम्मानमा सबै उठे । तर, प्रधानमन्त्री र काँग्रेस सभापति देउवा उठेनन् । प्रचण्डको देब्रेतिरको कुर्सीमा बस्नुअघि ओलीले भने, ‘आउन ढिला भयो, मेरो रेकर्डैै खराब भयो ।’ ओलीको बोली भूइँमै खस्न नपाउँदै प्रचण्ड प्वाक्क बोले, ‘तपाईंको रेकर्ड कहिले राम्रो छ र रु’ ओली फिस्स हाँसे र भने, ‘मौका पाएपछि भित्तैमा पु¥याउने बानी छ साथीभाइहरुको, ठीकै छ ।’
ओलीका दुई टुक्का
केही समयको रमाइलोपछि स्ववियु निर्वाचनबारे छलफल सुरु भयो । निर्वाचनमा विद्यार्थी संगठनहरुबीच हुन सक्ने सम्भावित झडप, विप्लव माओवादीका विद्यार्थीबाट हुन सक्ने अवरोधलगायत विषयमा छलफल चल्दै थियो । अरुले सुरक्षाबारे चिन्ता गरेपछि ओली बोले । उनले केही समयअघि पोखराको पृथ्वीनारायण क्याम्पसमा एमाले समर्थित अनेरास्ववियुको दुई समूहबीच भएको झडपलाई रमाइलो पाराले प्रस्तुत गरे ।
‘युवाहरुको रगत तातो हुन्छ, फरक संगठनको बीचमा अलिअली यसोउसो हुनु ठूलो कुरा होइन । अस्ति हाम्रै पार्टीका विद्यार्थीहरुको दुईवटा समूहले ‘हात आदानरप्रदान गरेर भावना साटासाट गरेछन् ।’ ओली हाँसेनन्, बाँकी सबै गलल्ल हाँसे ।
खास गरी बैठकमा त्रिविका पदाधिकारीले विप्लव माओवादीका विद्यार्थीले सबै क्याम्पसमा तालाबन्दी गरेको र उनीहरुसँग डराएर क्याम्पस प्रमुखहरुले निर्वाचन गराउनै नसक्ने बताउने गरेको सुनाए । उनीहरुको कुराले ओलीको रिसको पारो छुटेछ । ओलीले भने, ‘ए क्याम्पस प्रमुखहरुले जिम्मेवारी पूरा गर्न सक्दैनन् रे, त्यसो भए यसो गरौं, उनीहरुलाई त्यहाँबाट हटाएर हुलाकतिर पठाइदिऔं, आजभोलि हुलाकमा केही काम हुँदैन, जागिर खान्छन्, बस्छन् ।’




सम्बन्धित समाचार


error: Content is protected !!