२५ घण्टादेखि आन्दोलनकारीको कब्जामा जिविस कार्यालय

रुकुम ,प्रस्तावित पुथाउत्तरगंगा गाउँपालिकाको केन्द्र तकसेरा तोक्नुपर्ने माग सहित आन्दोलनमा आएका तकसेराबासीले २५ घण्टादेखि जिविस कब्जा गरेर बसेका छन् । आन्दोलनकारीहरु बुधबार बिहान १० बजेदेखि जिविसका बाहिरी दुई वटा र भवनको मुख्य प्रवेशद्वारमा तालाबन्दी गरेर जिविस प्राङ्गणमा बसिरहेका छन् ।
बुधबार बिहान १० देखि बेलुकी ४ बजेसम्म जिविस र जिल्ला प्राविधिक कार्यालयका १३ कर्मचारीलाई कार्यालय भित्रै राखेर तालाबन्दी गरेका आन्दोलनकारीले तालाबन्दीलाई अहिलेसम्म पनि कायमै राखेका छन् ।
बेलुकी ४ बजेट जिविस भित्र थुनिएका कर्मचारी छाड्न ताला खोलेपनि त्यसपछि फेरि ताला लगाइएको छ । जिविस परिसरका बाहिरी दुई वटा प्रवेशद्वारमा भित्रबाट ताला लगाइएको छ भने भवनको मुख्य प्रवेश द्वारमा बाहिरबाट ताला लगाइएको छ ।
आन्दोलनकारीले बुधबारको रात जिविस प्राङ्गणमै बिताएका छन् । उनीहरुले चिनेको मान्छे बाहेक अरुलाई जिविस भित्र छिर्न दिएका छैनन् । विहीबार जिविस र जिल्ला प्राविधिक कार्यालयका १ जना कर्मचारी पनि कार्यालयमा पस्न पाएका छैनन् । स्थानीय विकास अधिकारी नरेन्द्रकुमार राना विहीबार पनि जिल्ला प्रशासनमा छन् भने अन्य कर्मचारी बजारमा घुमिरहेका छन् ।
स्थानीय विकास अधिकारी रानाले बुधबार पनि कार्यालय पस्ने वातावरण नपाएपछि जिल्ला प्रशासनमै दिन विताएक ाथिए । विभिन्न कामको लागि जिल्ला आएका सेवाग्राही पनि जिविस र जिल्ला प्राविधिक कार्यालय छिर्न नपाएपछि अन्यौलमा छन् ।
गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगले अवैज्ञानिक तरिकाले पुथा–उत्तरगंगा गाउँपालिकाको केन्द्र प्रस्ताव गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रेका हुन् । सोमबार बेलुकी तकसेरा, दाङ र काठमाण्डौंबाट सदरमुकाम पुगेका तकसेराबासी मंगलबारदेखि निरन्तर आन्दोलनमा छन् ।
बुधबार जिल्लाको यातायात सेवा ठप्प बनाएका उनीहरुले बजार पनि चल्न दिएका थिएनन् । आन्दोलन समितिका संयोजक तथा तकसेरा सरोकार समितिका संयोजक जुद्ध बुढा मगरले विहीबार बजार खुल्न दिएपनि सवारीका साधन भने चल्न नदिएको बताए । माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने उनको भनाइ छ । ‘हामी ३ दिनदेखि निरन्तर आन्दोलनमा छौं,’ उनले भने, ‘सुन्नुपर्ने निकायले सुनेको जस्तो गरेको छैन माग नसुनिएसम्म आन्दोलन जारी रहन्छ ।’
आयोगले आफैं बनाएको कार्य शर्त तथा मादण्ड मिचेर अवैज्ञानिक तरिकाले पुथाउत्तरगंगा गाउँपालिकाको केन्द्र अपायक पर्ने ठाउँमा प्रस्ताव गरेको आन्दोलनकारीले बताउँदै आएका छन् । आयोगको कार्य शर्त र मापदण्ड अनुसारको ठाउँ र संरचना उक्त गाउँपालिकाको तकसेरामा मात्रै रहेको दाबी संयोजक बुढाले गर्दै आएका छन् ।
स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले जिल्लामा क्रियाशिल सबै राजनीतिक दलको सहमतिमा जिल्लाको लागि १० वटा स्थानीय तह सिफारिस गरेपनि आयोगले भने ३ नगरपालिका र ६ गाउँपालिकाको प्रस्ताव गरेको छ । पुथा र उत्तरगंगालाई छुट्टाछुट्टै गाउँपालिका सिफारिस गरिएप्नि आयोगले भने दुवैलाई मिलाएर एउटै गाउँपालिको सिफारिस गर्नुको साथै उक्त गाउँपालिकाको केन्द्र साविकको कोल गाविसमा प्रस्ताव गरिदिएको आरोप आन्दोलनकारीको छ ।
स्थानीय तह पनर्संरचना प्राविधिक सहयोग समितिका संयोजक एवं स्थानीय विकास अधिकारी नरेन्द्रकुमार रानाले तकसेराबासीको आन्दोलनको सन्दर्भमा आजै सर्वदलीय बैठक बोलाइएको बताए । सर्वदलीय बैठकले गर्ने निर्णयको आधारमा आन्दोलनकारीसँग बसेर आवश्यक निर्णय लिइने उनको भनाइ छ ।








