दाहालसँग ‘डिभोर्स चेतावनी


काठमाडौंः परेमा संविधान संशोधन थाती राख्दै निर्वाचन मिति घोषणा गर्ने प्रयासमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई मधेसी नेताहरूले आफूसँगको सहमति पालना नगरेको आरोप लगाउँदै आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
परिमार्जनसहित संविधान संशोधन नगरी चुनाव घोषणा गरे मधेसकेन्द्रित दलहरू सशक्त आन्दोलनमा ओर्लने उनीहरूले सोमबार सत्ता गठबन्धनसँगको बैठकमा बताएका हुन् । कांग्रेस र माओवादी केन्द्रको ‘आन्तरिक गठबन्धनु बाट एमाले नहटेसम्म वर्तमान गतिरोधले निकास नपाउने भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका थिए । उनीहरूले परिमार्जनसहित संविधान संशोधन पास नभई चुनाव हुनै नदिने बताएका छन् ।
सत्तारूढ कांग्रेस–माओवादी केन्द्रसँगको बैठकमा सोमबार मधेसी नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति आक्रामक हुँदै भने, ‘यो सरकार तपाईंहरूको हो कि प्रमुख प्रतिपक्षी एमालेको दाहाललाई प्रधानमन्त्री पदमा मतदान गरेको ६ महिनामा तीनबुँदे सहमति उल्लंघनमात्र नभएर एमालेको रणनीतिअनुसार मधेसीलाई पाखा लगाइएको दाबी उनीहरूले गरेका थिए ।
फोरम लोकतान्त्रिक र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सत्तामा ल्याएर संविधान संशोधनका पक्षमा ४ सय १ मत पुर्याउन दाहाललाई कसैले नरोकेको मधेसी नेताहरूले बताए । यस्तै अवस्था रहे यो गठबन्धन धेरै नटिक्ने र यसको कुनै औचित्य नरहने चेतावनीसमेत उनीहरूले दिए ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहान ९ बजेदेखि तीन घन्टा चलेको वार्तामा मधेसी नेताको आक्रामक र आक्रोशपूर्ण अभिव्यक्तिपछि दाहालको बचाउ गर्दै सरकारको प्रमुख घटक कांग्रेसका सभापति शेरबहादुर देउवाले भने, ‘तपाईंहरूको अडान स्थानीय निर्वाचन हुनै नदिने हो त उनले मोर्चाको मागअनुसार संशोधन पक्षमा कांग्रेस प्रतिबद्ध रहेको जिकिर गरेका थिए ।
एकदुई दिनभित्रै एमालेसँग मिलेर संशोधन सहमति । पुष्पकमल दाहाल
अबको आन्दोलनमा सुरक्षा निकायबाहेक सबै ठप्प । महन्त ठाकुर
संशोधनबिनै निर्वाचन तोके सशक्त प्रतिकार । उपेन्द्र यादव
जबाफमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संघीयताको आवरणमा संघीयताविरोधी स्थानीय निर्वाचन हुनुभन्दा नहुनु उत्तम रहेको बताएका थिए । उनले भने, ‘दाहालजीको आन्तरिक गठबन्धनबाट एमाले नहटेसम्म समस्याले निकास पाउँदैन ।ु बैठकमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यस्तै हो भने सत्तास्वार्थी दाहालजीसँगको आगामी सम्बन्ध डिभोर्समा परिणत हुन्छ
प्रधानमन्त्रीले सुरुमै संविधान संशोधनमा दुईतिहाइ कसरी पुर्याउने, निर्वाचन घोषणा गरेर संविधान संशोधन गर्ने, स्थानीय क्षेत्र निर्धारण समितिको प्रतिवेदन परिमार्जन सम्बन्धमा मोर्चाको धारणा माग गरेका थिए । उनले भने, ‘यो सरकार मधेसीको पनि भएकाले तपाईंहरूको धारणाबाट विमुख हुन सक्दैनौं । एकअर्कालाई शंकाउपशंका गर्न छोडौं ।
प्रधानमन्त्रीले संविधान संशोधन प्रक्रिया अघि बढाउने र चुनावको तयारी थाल्ने प्रस्ताव राख्नासाथ मधेसी मोर्चाका नेताहरू आक्रोशित भएका थिए । तमलोपा अध्यक्ष ठाकुरले संविधान संशोधन विधेयक परिमार्जनसहित पास नभएसम्म चुनावमा नजाने र प्रक्रिया अघि बढ्नै नदिने बताए । उनले संशोधनको सहमतिका लागि एमालेसँग संवाद गर्न दाहाललाई सुझाए । ठाकुरले संविधान संशोधन नभए आन्दोलनमा जाने चेतावनी दिँदै त्यस्तो बेला मधेसमा सुरक्षा निकायबाहेक अरू कुनै कार्यालय चल्न नदिने चुनौती दिए ।
प्रधानमन्त्रीका चार प्रस्ताव
१। मिति घोषणा नगरे पनि चुनावको तयारी गर्न आयोगलाई पत्राचार गर्ने ।
२। संविधान संशोधन प्रक्रिया अघि बढाउने र टुंगोमा पुगेपछि मिति घोषणा गर्ने ।
३। संशोधनलाई प्रक्रियामा लैजाँदा आउने परिणाम स्वीकार्दै चुनावमा जाने । संशोधनमा केके परिर्माजन गर्न सकिन्छ, त्यसलाई मान्ने ।
४। स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनमा केही हेरफेर भए त्यसैअनुसार स्थानीय तहको चुनावमा जाने ।
संघीय गठबन्धनका संयोजक एवं संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अझ आक्रामक रूपमा प्रस्तुत हुँदै प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्र मिलेर आफूहरूलाई धोका दिएको बताए । यादवले अब धेरै बैठक गर्नुको औचित्य नभएको उल्लेख गर्दै दाहाल सरकारसँग सम्बन्धविच्छेद गर्ने प्र्रस्ताव राखेका थिए । भागबन्डामा एकता, संशोधनमा अनेकताको नाटक रच्नुको कुनै अर्थ नहुने उल्लेख गर्दै उनले भने, ‘संशोधनबिना निर्वाचन मिति तय भए सरकारले ठूलै मूल्य चुकाउनुपर्छ ।
सद्भावना पार्टीका अध्यक्ष महतोले संविधान संशोधन नभई चुनावको कुरै नगर्न आग्रह गरे । उनले भने, ‘यो सरकार एमालेपरस्त रहेको उदाहरण संसद्मा आएको महाभियोग, उच्च अदालतको न्यायाधीश नियुक्ति र निर्वाचन आयोगका तीन सदस्य नियुक्तिको प्रकरण हो । तीन दलको मिलोमतोमा संशोधन प्रस्ताव पाखा लगाउन पाइँदैन । सद्भावना संसदीय दलका नेता लक्ष्मणलाल कर्णले मधेसमा ५२ प्रतिशत जनसंख्या रहेको उल्लेख गर्दै सोही अनुपातमा स्थानीय तह पाउनुपर्ने बताए ।










