सेनाद्धारा चार हजार स्वयमसेवी तयार

जाजरकोट । त्रिभुवन माध्यामिक विद्यालय जाजरकोट खलंगामा ८ कक्षामा अध्ययनरत छात्रा भावना गिरी अध्ययनका साथै नेपाली सेनाले दिईरहेको तालिम लिईरहेकी छन् । दिनभर विद्यालयमा पढ्ने उनी बेलुकाको समयमा नेपाली सेनाको राष्ट्रिय सेवा दलले दिईरहेको स्वयमसेवी तालिम लिईरहेकी छन् ।
उनले तालिम एकदमै जीवनोपयोगी र ब्यवहारिक भएको बताईन । ७९ दिने कोर्स सकेर ९ माघ देखी बाँकेको कौशिलानगरमा हुने २१ दिने विशेष तालिम लिन नेपालगञ्ज प्रस्थान गरेकी छन् । भन्छिन् ‘‘ तालिमबाट देशको लागी केही गरौ भन्ने भावना जागेको छ । पढाईसकेर नेपाली सेना भएर देश र जनताको सेवा गर्छु ।’’ उनी मात्र होईन यस विद्यालयका १८ छात्र र १८ छात्रा गरी ३६ जना छात्रछात्राले यो तालिम लिईरहेका छन् । शारिरीक ब्यायमका साथै अनुशासन, ईमान्दारीता, बफादारिता, राष्ट्रियताको भावना जागृत गर्ने शिक्षा, विपद ब्यवस्थापन लगायतका विषयमा युवा स्वयमसेवी तयार गर्ने उद्देश्यले यस बर्ष मात्र नेपाली सेनाले ६३ जिल्लाका ४ हजार स्कुले विद्यार्थीलाई सय दिने तालिम दिईरहेको छ ।
जिल्लामै हुने संस्थागत तालिममा मार्चपास, ड्रिल, खुकुरी ड्रिल, मास पिटि, डान्स, एरोविक्स म्युजिक डान्स, फिल्ड सिग्नल लगायतका तालिम प्रदान गर्ने गरिएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाको राष्ट्रिय स्वयमसेवा दलका तालिम प्रशिक्षक तर्कबहादुर गुरुङ्गले हतियार चलाउने बाहेक सेनाले गर्ने सवै किसिमका तालिमहरु प्रदान गर्ने गरिएको बताए । शारिरीक ब्यायमका साथै अनुसाशन , नागरिकका कर्तब्य , स्वयमसेवी भावनाको विकास लगायतका बौद्धिक क्षमताको विकास हुने खालका कुराहरु पनि सिकाउँछौ उनले भने । केही दिन पछि बाँकेको कौशिलानगर , नवलपरासीको हात्तिखोर र इटहरीको एनसिलानगरमा हुने २१ दिनको एडभान्स तालिममा विभिन्न खेलकुद लगायतका विधामा अन्र्तरजिल्लागत रुपमा प्रतिस्पर्धा गराईने कार्यक्रम रहेको छ ।
देशभरबाट उत्कृष्ट हुने ४० बढी युवायुवतीहरुलाई युथ एक्सचेन्ज कार्यक्रममा भागलिनका लागी श्रीलंका , भारत , बंगलादेश लगायतका देशमा पठाईने गरेको राष्ट्रिय सेवा दलले जनाएको छ । बेलायती सेनाको यस्तो किसिमको अभ्यासबाट प्रभावित भएर नेपाली सेनाले २०२२ सालबाट यसरी स्वयमसेवक तयार पादै आएको छ । हाल सम्म २० हजार बढी विद्यार्थीले यो तालिम लिईसकेका छन् । गतबर्ष नेपालमा गएको महाभुकम्पमा समेत तालिम लिएका स्वयमसेवीहरुलाई परिचालन गरेका थियौ तालिम संयोजक गुरुङ्गले भने—‘तालिम लिएका युवायुवतीले सेनामा प्रवेश गर्ने इच्छा गरे भने विशेष ग्रहयता हुन्छ । देशलाई आवश्यक परेको बेला स्वयमसेवकको रुपमा परिचालन गर्न र विद्यालय तह देखी नै स्वयमसेवी भावनाको जागृती गराउन तालिम फलदायी भएको छ ।’





error: Content is protected !!