ऋषि धमलाको कानमा केपी ओलीले भने–प्रचण्ड र मलाई मिलाउने साँचो तपाईंसँग छ, त्यो साँचो प्रयोग गर्नुस्

काठमाण्डौ , एमाले अध्यक्ष केपी ओलीले रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलालाई दलहरुबीच अविश्वास हटाई सहमति निर्माणमा सक्रिय हुन आग्रह गरेका छन् ।
‘नेपाली देशभक्त युवा समाज’ ले सहिद दिवसका अवसरमा राजधानीको माइतीघर मण्डलामा आयोजना गरेको एक कार्यक्रममा ओलीले धमलासँग सहमतिको साँचो रहेको भन्दै प्रशंसा गरे ।
धमलालाई पत्रकारितामार्फत राष्ट्रियता प्रवद्र्धनमा योगदान गरेको भन्दै कार्यक्रममा ओलीले दोसल्ला ओढाएर र ताम्रपत्र प्रदान गरेर सम्मान गरेका थिए । त्यस क्रममा ओलीले धमलासँग कानेखुसी गरेका थिए ।
‘नेपालमा सबै दललाई मिलाउने साँचोका रुपमा एकजना मानिस चाहिएको छ’, ओलीले भने, ‘तपाईंले चाहनुभयो भने सक्नुहुन्छ, साँचो तपाईंसँग छ ।’ ओलीले धमलालाई आफूसँग भएको सहमतिको साँचो देशभक्तिका लागि प्रयोग गर्न भनेका थिए ।
पछिल्लो समय सत्तापक्ष र प्रमुख प्रतिपक्षबीचको सम्बन्ध थप चिसिँदै गएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओलीले सार्वजनिक रुपमै एकअर्काविरुद्ध कडा अभिव्यक्ति दिँदै आएका छन् ।










