बढ्यो अवैध खोटो संकलन

जाजरकोट , भेरीमालिका नगरपालिका १ साउनेपानीस्थित सामुदायिक वनमा अवैध रूपमा खोटो संकलन भइरहेको छ । उपभोक्ता समिति, इलाका वन कार्यालय खलंगाका कर्मचारी र खोटो कम्पनी प्रतिनिधिको मिलेमतोमा अवैध दोहोन भइरहे पनि प्रशासनले नियन्त्रणका लागि ध्यान नदिएको स्थानीयको गुनासो छ ।
जिल्ला वन कार्यालयको अनुमति र प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनबिना नै उक्त वनमा खोटो संकलन भएको हो । कानुनी मापदण्ड पूरा नगरेरै ग्लोबल केमिकल्स प्रालि अत्तरिया, कैलालीले अवैध रूपमा साउनेपानी सामुदायिक वन क्षेत्रमा खोटो संकलन गर्दै आएको छ । जथाभावी खोटो संकलनबाट सल्लाघारी नष्ट भएको उपभोक्त दिनेशजंग शाहले बताए । ‘खोटो संकलन गैरकानुनी छ । यसबारे जिल्ला बन कार्यालयले पनि बेवास्ता गरेको छ,’ उनले भने ।
सानादेखि ठूला कुनै पनि सल्लाका रूख बाँकी नराखेर खोटो संकलन हुने गरेको छ । जिल्ला वनमा पटक–पटक जानकारी गर्दा पनि वास्ता नभएको स्थानीयको गुनासो छ । उपभोक्तालाई कानुनी प्रक्रिया पूरा भएको भन्दै कम्पनीले ६ हजार किलो खोटो निकालेको छ । उक्त खोटोको राजस्वसमेत असुली नभएको हो ।
मापदण्डविपरीत खोटो संकलन हुनेमा साउनेपानी त उदाहरण मात्र हो । जाजरकोटका दर्जनौं बनजंगलमा अवैध खोटो संकलन हुने गरेको पाइएको छ । जथाभावी खोटो संकलनबाट २३ गाउँ विकास समितिका ९६ सामुदायिक वनका खोटेसल्ला सुक्दै गएका छन् । गैरकानुनी खोटो संकलनका कारण जुँगाथापाचौर ९ को नाहाडा सामुदायिक वन, चिन्तेडाँडा सामुदायिक वन, बल्ले सामुदायिक वन र कार्कीगाउँ २ को चामेपातल समुदायिक वनमा भएका १० हजार खोटेसल्ला सुकेका स्थानीय सुरेन्द्रबहादुर बुढाले बताए ।
‘जिल्लाभर खोटो तस्करी दिनप्रतिदिन बढ्दै गएको छ । तर सरोकारवाला निकाय मौन तथा बेखबर छन्,’ उनले भने । खोटो संकलन कार्यविधि २०६४ विपरीत यस जिल्लामा खोटो संकलन भइरहेको हो । जिल्लामा ९ खोटो कम्पनीले मापदण्ड विपरीत संकलन तथा चोरी निकासी गर्दै आएका छन् । कम्पनीले १६ वर्षदेखि खोटो संकलन गर्दै आएका हुन् । कार्कीगाउँ, झाप्रा, सीमा, दशेरा, पजारू, जुँगाथापाचौर, साल्मा, डाँडागाउँ, लहँ, मजकोट, सुवानाउली, थालारैकर, गर्खाकोट, पुन्मा, भेरीमालिका नगरपालिका, ढिमे, खगेनकोट लगायत गाविसका ९६ सामुदायिक वनमा जथाभावी खोटो संकलन गरिरहेका छन् ।
कम्पनीले वार्षिक रूपमा खोटो संकलन तथा निकासी गर्न पाएको अनुमतिभन्दा दोब्बर संकलन गर्ने गरेका छन् । जंगलमा भेटिए जतिका सबै सल्लाका रूखको चारैतिरबाट खोटो निकाल्ने गरेका छन् । एउटा पनि माउ रूख नराख्दा सल्लाघारी जंगलमा विनाश बढेको छ । एक हेक्टरमा ५ देखि १० वटा जति माउ रूखलाई सुरक्षित राख्नुपर्ने खोटो संकलन कार्यविधिमा उल्लेख छ । हरेक वर्ष चैतदेखि कात्तिकसम्म खोटो संकलन गर्नुपर्ने हुन्छ । कार्यविधिमा एउटा रूखमा ३२ जोडी रिल बनाउन उल्लेख छ ।
तर कम्पनीले छोटो समयमा धेरै खोटो निकाल्न १ सय जोडी रिल बनाउने गरेका छन् । जंगलमा रहेका सबै रूखमा बढी मात्रामा एसिडको प्रयोग गरी खोटो निकाल्ने कार्य अवैध भएको संरक्षणकर्मीले बताए ।
सामाुदायिक वन समूहको कार्ययोजनाविपरीत खोटो संकलन गर्न नपाइने प्रावधान रहेको जिल्ला वन अधिकृत उपेन्द्रप्रसाद पटेलले बताए । कार्यविधि विपरीत खोटो संकलन गर्ने कम्पनीलाई कडा कारबाही गरिने उनको भनाइ छ । ‘जिल्लामा वन प्राविधिकको संख्या न्यून भएकाले नियमित अनुगमन तथा निरीक्षणमा समस्या छ,’ उनले भने । बंगलामुखी रोजिन एन्ड टर्पेन्टाइन गनापुर बाँके, स्वस्तिक रोजिन एन्ड टर्पेन्टाइन चन्नौटा कपिलवस्तु, देउती रोजिन एन्ड टर्पेन्टाइन बाँके, माउन्ट रोजिन एन्ड टर्पेन्टाइन रूपन्देही, मनकामना रोजिन एन्ड केमिकल उद्योग बाँके, दीपमाला रोजिन एन्ड प्रालि टर्पेन्टाइन, जय वागेश्वरी रोजिन बाँके र ग्लोबल केमिकल्स प्रालि अत्तरिया कैलालीले खोटो संकलन गर्दै आएका छन् ।










