कीर्ते कागज बनाइ शिक्षा कार्यालयद्वारा शिक्षक सरुवा सरुवाविरुद्ध जिल्ला शिक्षामा उजुरी

भीमबहादुर सिंह
जाजरकोट
जिल्ला शिक्षा कार्यालयले कीर्ते कागज बनाई शिक्षकको सरुवा गरेको खुलेको छ । कार्यालयले कीर्ते कागजको आधारमा सरस्वती प्राथमिक विद्यालय बफेलगाउँ, खगेनकोटका शिक्षक दिपककुमार बुढालाई जनप्रिय प्राथमिक विद्यालय पिउली, लहँमा सरुवा गरेको हो ।
लहँ(२, थाप्ला ठेगाना भइ प्रावि पिउलीमा राहात अनुदान कोटामा कार्यरत शिक्षक दिपेन्द्रकुमार खड्काको मिलोमतोमा कीर्ते कागज बनेको पाइएको छ । प्रावि पिउलीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपबहादुर विकले शिक्षा कार्यालयमा उजुरी दिएपछि कीर्ते सरुवाको रहस्य खुलेको हो । खड्काले व्यवस्थापन समितिको बैठक, सरुवा सहमति, शिक्षकको राजीनामा स्वीकृति लगायत कागजमा अध्यक्षको कीर्ते हस्त्ताक्षर गरेर पेस गरेपछि कार्यालयले गत १४ गते बुढाको प्रावि बफेलगाउँबाट पिउलीमा सरुवा गरेको थियो । खड्का शिक्षक सेवा आयोग पश्चिमाञ्चल विकास क्षेत्रबाट मावि तृतीय श्रेणी नेपाली विषय शिक्षकमा सिफारिस भएपछि प्रावि पिउलीमा राहात अनुदान कोटा रिक्त भएको थियो । उक्त रिक्त पदमा शिक्षक पदपूर्तिका लागि शिक्षा कार्यालयमा अनुमति माग्न जाँदा शिक्षक सरुवा भएको पत्ता लागेको अध्यक्ष विकले बताए ।
कार्यालयमा पेस भएअनुसार गत पुस १२ गते व्यवस्थापन समितिको बैठक नबसेको, शिक्षक दीपेन्द्र खड्काको राजीनामा स्वीकृत नगरेको र सरुवा सहमति पत्र लगायत कागजमा हस्त्ताक्षर पनि नगरेको अध्यक्ष विकले बताए । शिक्षक खड्काले विद्यालय व्यवस्थापन समिति कसैलाई थाहा नै नदिई कीर्ते कागज तयार गरी शिक्षक सरुवा गर्ने कार्यमा मिलोमतो गरेकोले उक्त सरुवा बदर गरी नयाँ शिक्षक पदपूर्तिका लागि अनुमति माग गरेको उनले बताए । कीर्ते कागज तथा हस्त्ताक्षर गर्ने खड्कालाई आवश्यक कारबाहीको माग समेत गरेको उनले बताए । शिक्षा नियमावलीमा शिक्षकले चाहेको विद्यालयमा सरुवा हुन सम्बन्धित विद्यालय व्यवस्थापन समितिको अध्यक्षको सहमति अनिवार्य चाहिने प्रावधान रहेको छ ।
सरुवासम्बन्धी कागज कार्यालयमा पेस भएपछि कीर्ते भन्ने जानकारी नहुँदा शिक्षक बुढाको सरुवा गरेको विद्यालय निरीक्षक धनञ्जय आचार्यले बताए । यस सम्बन्धी कार्यालयमा उजुरी परेपछि छानविनको प्रकृया अघि बढेको विद्यालय निरीक्षक आचार्यले बताए । विद्यालय क्षेत्रका श्रोतब्यक्ति ज्ञानेन्द्रबहादुर सिंहलाई कीर्ते कागज सम्बन्धमा अध्ययन गरी प्रतिवेदन बुझाउन निर्देशन गरेको उनले बताए ।
कान्तिपुर वाट ।










