भूकम्पपीडितको चामल गोदाममै

जाजरकोट पुस ४ । जाजरकोट बंगलादेश सरकारले भूकम्पपीडितका लागि उपलब्ध गराएको चामल सरकारले बिक्रीको तयारी गरे पनि त्यो अहिलेसम्म गोदाममै थन्किएको छ । नेपाल खाद्य संस्थानको जाजरकोट सदरमुकाममा रहेको डिपोमा अहिले त्यही चामल छ । उक्त चामल बिक्री नभएर एक वर्षदेखि गोदाममै थन्किएको संस्थानले जानकारी दिएको छ ।
सदरमुकास्थित गोदाममा चामल राख्ने ठाउँ नभए पनि जिल्लाका दुर्गम स्थानमा रहेका डिपोमा भने चामल पुग्न सकेको छैन । रग्दाको चौखाबाहेक नायकवाडाको घाट, पजारुको घोगी र दसेराका खाद्य अहिले रित्तै छन् । ढुवानी जिम्मा लिएका ठेकेदारले समयमै डिपोमा चामल नर्पुयाउँदा यस्तो अवस्था आएको हो, जसकारण स्थानीयले संस्थानले बिक्री गर्ने सहुलियतको चामल पाउन सकेका छैनन् ।
जिल्ला सदरमुकाम खलंगास्थित संस्थानको गोदाममा दुई हजार एक सय ७२ क्विन्टल चामल मौज्दात छ । चालू आर्थिक वर्षमा तीन सय क्विन्टल चामल मात्र ढुवानी भएको छ । ’गतवर्षकै चामल बिक्री नभएर थन्किएको छ, चालू आवका लागि स्वीकृत तीन हजार एक सय क्विन्टल चामल आयो भने राख्ने ठाउँसमेत छैन’, संस्थान जाजरकोटका प्रमुख धर्मबहादुर बस्नेतले भने, ’कोही पनि चामल लिन आउँदैनन्, कसरी सक्नु ? सित्तैमा दिनु भएन ।’
सदरमुकाममा यातायातको सहज पहुँच भएको, संस्थानले बिक्री गर्ने चामल र बजारमूल्यमा खासै फरक नपर्ने भएकाले बिक्री हुन छाडेको प्रमुख बस्नेतले बताए । उक्त चामल गन्हाउने र स्वादिलो नभएकाले बिक्री नभएको स्थानीयको भनाइ छ । जिल्लामा हालै आएको सय क्विन्टल र रग्दाको चौखा डिपो पठाइएको दुई सय क्विन्टल चामल बिक्री नभएको संस्थानले जनाएको छ । यातायातको पहुँच पुगेपछि चौखा डिपोमा पनि सदरमुकाममा जस्तै चामल बिक्री हुन सकेको छैन । अन्य तीन डिपोमा भने चालू आवमा चामल पुग्न सकेको छैन ।
दसेरा र पजारु खाद्य डिपोमा गतवर्ष चामल ढुवानीको जिम्मा लिएका विकेन्द्र कन्स्ट्रक्सन एन्ड विकेन्द्र सप्लायर्सले दुई हजारमध्ये एक सय क्विन्टल मात्र ढुवानी गरेका थिए । चामलको माग हुँदाहुँदै पनि ठेकेदारले चामल ढुवानी नगर्दा कुनै कारबाही नभएको स्थानीयको आरोप छ । यी दुई डिपोका लागि संस्थानको अञ्चल कार्यालय नेपालगन्जले ढुवानी गराउँदै आएको छ ।
चालू आवमा पनि दसेराका लागि ढुवानी जिम्मा लिएको आईडी सप्लायर्स कोहलपुर ४ बाँकेले अहिलेसम्म चामल ढुवानी नगरेको खाद्य संस्थानले जनाएको छ । त्यस्तै पजारुका लागि पहिलोपटक खोलिएको टेन्डर अस्वीकृत भएपछि पुनः खोलिएको र केही दिनमै ढुवानीकर्ता छनोट हुने अञ्चल कार्यालय नेपालगञ्जका प्रमुख मोतीराज ज्ञवालीले बताए । दसेरामा तत्काल चामल ढुवानी गर्न संस्थानले सप्लायर्सलाई ताकेता गरिरहेको उनले जानकारी दिए ।
यता नायकवाडा खाद्य डिपोमा चामल ढुवानी गर्ने जिम्मा लिएका लक्ष्मण निर्माण सेवाका भक्तबहादुर बस्नेतले चालू आवमा तीन क्विन्टल मात्र चामल ढुवानी गरेका छन् । नायकवाडामा माग अत्यधिक रहे पनि ठेकेदारले समयमा चामल ढुवानी नगर्दा समस्या भएको स्थानीय गोरखबहादुर सिंहले बताए । ठेकेदारलाई डिपोमा चामल र्पुयाउन ताकेता गरिए पनि कतिपयले अटेरी गर्दा समस्या भएको खाद्य संस्थान प्रमुख बस्नेतको भनाइ छ ।
यातायात सेवा नपुगेको वारेकोट क्षेत्रमा सधैं खाद्यान्न अभाव भइरहन्छ । त्यहाँको खाद्य संकट टार्ने उद्देश्यले स्थापना गरिएको डिपोमै चामल अभाव हुँदा स्थानीय निकै समस्यामा पर्ने गरेका छन् । निजीक्षेत्रका व्यवसायीले चामल बिक्रीका लागि खासै चासो नलिने र लिए पनि निकै महँगो पर्ने भएकाले स्थानीयले संस्थानकै चामल माग गर्ने गरेको संस्थानको भनाइ छ ।
’केही वर्षअघिसम्म सदरमुकाममा चामल पाउन सीडीओबाट कुपन लिनुपथ्र्यो । अहिले बिक्री नभएर फालाफाल छ’, नागरिक अगुवा राजेन्द्रविक्रम शाहले भने, ’गाउँमा भने अहिले पनि चामल नपुग्दा निकै समस्या छ ।’ ढुवानी प्रक्रिया व्यवस्थित गर्न नसक्दा खाद्य आपूर्तिमा समस्या भएको र स्थानीयले पनि समयमा चामल नपाउने गरेको गुनासो छ ।
संस्थानले चारवटै डिपोमा एकरएक हजार क्विन्टलका दरले चामलको कोटा निर्धारण गरेको छ । तर, सदरमुकाममा गतवर्षकै चामल बिक्री नभएपछि चार हजार क्विन्टल कोटाबाट तीन हजार एक सयमा सीमित भएको छ ।










