छापा पत्रकारितामा प्राविधिकको अवस्था, चुनौती र सम्भावना

आजको युग विज्ञान र प्रविधिको युग हो । यही विज्ञान र प्रविधिले गर्दा मानिसले कल्पनासम्म नगरेका कामहरु सम्भव भएका छन् । आजका हरेक विषयवस्तु विज्ञान र प्रविधिसँग जोडिएका छन् । प्रविधिको यही चमत्कारी विकासले हाम्रा हरेक पेशा व्यवसायलाई प्रविधिसँग जोडिदिएको छ ।
त्यसैले हामी प्रविधिको प्रयोग गरेर घण्टौंसम्म लाग्ने काम पनि छिनभरमै सम्पन्न गर्न सफल भएका छौंँ । यसरी हाम्रा पेशा व्यवसायहरुमा प्रविधिको प्रयोग भैरहदा दक्ष प्राविधिकहरुको आवश्यकता भैरहेको छ । आज हरेक क्षेत्रमा प्रविधिलाई कुसल ढङ्गले सञ्चालन गर्ने दक्ष प्राविधिकहरुको खाँचो छ । यदि प्रविधिलाई सही ढङ्गबाट सञ्चालन गर्न सकिएन भने त्यसले ठूलो दुर्घटना निम्तिन सक्छ । हुन त प्राविधिक क्षेत्र आफैमा एउटा महत्वपूर्ण र संवेदनशील पाटो हो । तर पनि प्राविधिकले प्रविधि अनुकुल चल्न र चलाउन सक्नुपर्दछ ।
यही विज्ञान र प्रविधिको एउटा देन हो आजको पत्रकारिता पनि । प्रविधिको विकासले आमसञ्चार र पत्रकारिता क्षेत्रलाई पनि पत्रकारितालाई सहज बनाइदिएको छ । र त आमसञ्चारका सबै क्षेत्रमा प्रविधिको प्रयोग भैरहेको छ । तर पनि यस क्षेत्रमा दक्ष प्राविधिकहरुको कमी छ । राजधानी होस् या मोफसल जहाँ पनि दक्ष जनशक्तिको अभाव समय–समयमा खड््िकरहन्छ ।
पत्रपत्रिका, रेडियो, टेलिभिजन र पछिल्लो चरणमा फस्टाउँदै गरेको अनलाइन पत्रकारितामा पनि प्राविधिकको निकै महत्वपूर्ण भूमिका रहन्छ । कुनै पनि सञ्चार माध्यममा प्राविधिक क्षेत्रको जिम्मेवारी पाएका व्यक्तिलाई प्राविधिक वा कम्प्यूटर अपरेटर भन्ने गरिन्छ । जसले सञ्चार माध्यममा प्रयोग भएका प्रविधिहरुलाई सही ढङ्गबाट सञ्चालन गर्न सक्छन् ।
प्राविधिकहरुकै दक्षताका कारण सञ्चार माध्यमहरु प्रभावकारी र आकर्षक बन्न सक्छन् । विद्युतीय सञ्चार माध्यमहरु (रेडियो र टेलिभिजन) मा उपकरणहरुलाई सही ढङ्गले सञ्चालन गर्नु, विज्ञापन र समाचार सामग्रीहरुलाई आकर्षक र प्रभावकारी बनाउनु प्राविधिकको जिम्मेवारी हो । त्यस्तै छापा माध्यममा पनि विज्ञापनलाई नयाँ–नयाँ डिजाइन दिन सक्नु, झट्ट हेर्दा आहा ! क्या राम्रो भन्नेसम्म बनाउन सक्नु र सम्पादकको निर्देशन अनुसार समाचार र तस्वीरलाई उपयुक्त ढङ्गले डिजाइन गर्नसक्नु प्राविधिकको मुख्य जिम्मेवारी हो ।
तर यतिले मात्र प्राविधिकको जिम्मेवारी पूरा हुँदैन । एउटा कुशल प्राविधिकले सम्पादकले सच्चाउन भुलेका गल्ती सामग्रीहरुलाई समेत सच्चाउन सक्नुपर्दछ । अझ मोफलसमा काम गर्ने प्राविधिकहरुले त समाचार लेखनदेखि सम्पादनसम्म गर्न सक्नुपर्ने बाध्यात्मक अवस्था छ । राजधानी बाहिरका प्राय सबै क्षेत्रका सञ्चार माध्यमहरु यसरी नै चलिरहेका छन् ।
छापा माध्यममा प्राविधिकको अवस्था
छापा पत्रकारिताले डेढ दशक पार गरिसक्दा पनि व्यवसायिक पत्रकारिताले विकासको गति लिन सकेको छैन । आर्थिक, सामाजिक, राजनीतिक भौगोलिक, व्यवसायिक नीतिको अभाव जस्ता कारणले छापा पत्रकारिता अगाडि बढ्न सकेको छैन । एउटा प्राविधिकको भरमा पत्रपत्रिका खुल्ने र बन्द हुने होडबाजी जस्तै चलेको छ । एकजना रिपोटर र एकजना प्राविधिक भए पत्रिका चलिहाल्छ भन्ने छोटो सोचका कारण पत्रिका खोल्ने र बन्द गर्ने क्रम चलिराखेका छन् ।
जसका कारण प्राविधिकहरुले समस्याको भारी काँधमा थाप्नुपर्ने अवस्था छ । हाल सञ्चालन भैरहेका मोफसलका केही छापा माध्यमहरु प्राविधिक कै भरमा चलिरहेका छन् । सञ्चार माध्यम सञ्चालन गर्ने प्रमुख आधार वा माध्यम भनेकै विज्ञापन हो तर मार्केटिङ्ग गर्ने व्यक्तिकै अभाव छ । केही सञ्चार माध्यम त यस्ता छन् जहाँ मौसमी विज्ञापनलाई रचनात्मक क्रेटिभ ढाँचा वा शैली तयार पार्न सक्ने क्षमता न विज्ञापन शाखाका प्रमुखसँग छ, नत सम्पादकसँग नै । बेलाबखतमा प्राप्त हुने यस्ता मौसमी विज्ञापनहरु प्राविधिक रातभरी एक्लै बसेर तयार पार्र्नुपर्छ ।
रातभरको दुःख न सम्पादकले बुझ्छ, नत विज्ञापन शाखाका कर्मचारीलेनै । बरु कहिकतै गल्ती भैहालेमा सम्पादकले लाज पचाएर भन्छ ‘यति त हेर्नु पर्छनी’ । हुन त केही सम्पादकहरुलाई विज्ञापन बनाउन लाग्ने मेहनत र समयको ज्ञान समेत छैन । कही कतैबाट विज्ञापन प्राप्त भयो र नमूना देखाऊ भनेपछि सम्पादक ‘प्राविधिकले मिलाइहाल्छ नि’ भनेर पन्छिन् । अनि भोलिपटक विज्ञापन दाताले यस्तो कुरा छुटेछ भन्दा फेरि भन्छ ‘मैले त ठिकै गरेको थिएँ, प्राविधिकले गल्ती गरेछ ।’ अझ यहाँसम्म कि केही सम्पादक र प्राविधिकको त भेटघाट नै हुँदैन ।
भेटघाट हुने सम्पादकीय जिम्मेवारी पाउनेलाई पनि आज कति विज्ञापन छ ? समाचारका लागि कति शब्द चाहिन्छ ? भन्नेसम्म थाहा हुँदैन । केही थाहा पाउनेहरुले पनि थाहा नपाए जस्तो गर्छन् । २/४ ओटा समाचार दियो बाँकी प्राविधिकले गरिहाल्छ भन्ने मानसिकता बोकेकाहरु पनि छन् । त्यस्तै आर्थिक क्षेत्र पनि उस्तै छ । प्राविधिकहरु एउटा रिपोटरभन्दा पनि थल्लोस्तरमा राखिन्छन् । रिपोटर र सम्पादकहरुलाई खाममा राखेर एनजिओ, आइएनजिओ दिने भक्ता र फेलोसिपबाट दैनिकी धकेलिएला । अल्ली गतिलै भए १/२ वटा राष्ट्रिय मिडियामा पनि काम पाउला ।
स्थानीय र राष्ट्रिय मिडियाबाट उसको घरखर्च चल्ला तर प्राविधिक त हरेक दिन त्यही पत्रिका सेटिङ्ग गर्यो चित्त बुझायो । प्राविधिक न विरामी भन्न पाइन्छ नत विदा नै । बरु आफन्तहरु विरामी हुँदा हस्पिटलकै सैयाबाट अनलाइनमा बसेर काम गर्नुपर्छ । दशैका ५ दिन र तिहारका ३ दिनबाहेक प्राविधिकहरु मेसिन जस्तै गरेर खटिनु पर्छ । हो यि र यस्ता कारणले गर्दा छापा माध्यममा प्राविधिकहरुको खडेरी परिरहन्छ ।
भएका प्राविधिक अर्काे पेशा रोज्न बाध्य हुन्छन् भने नयाँहरु यो क्षेत्रमा आउनै चाहदैनन् । बरु १ कै जनाले २/३ वटा पत्रिकाहरु धान्नु पर्छ र त बधाई हुनुपर्नेमा, श्रद्धाञ्जली, श्रद्धाञ्जली हुनुपर्नेमा बधाई, तस्विर एउटाको नाम अर्कैको जस्ता गल्तीकमजोरीहरु हुन्छन् । नहोस् पनि कसरी विज्ञापन शाखाको प्रमुखको जिम्मेवारी, सम्पादकको जिम्मेवारी र प्राविधिकको जिम्मेवारी एउटैले धान्नुपर्छ ।
चुनौतिहरु :
केन्द्रयस्तरको तुलनामा मोफसलका छापा माध्यममा कार्यरत प्राविधिकहरुका धेरै चुनौतिहरु छन् । तत्कालको चुनौती भनेको आर्थिक अभाव हो । यहाँ आर्थिक अभावकै कारण धेरै प्राविधिकहरु पेशाबाटै पलायत भैरहेको अवस्था छ । मिडियाबाट प्राप्त हुने पारिश्रमिकले दुई छाक टार्न धौधौ पर्छ दैनिक आवश्यकता पूर्ति हुने कुरा त बेग्लै भैहाल्यो । त्यस्तै अर्काे चुनौति भनेको पदोन्ततिको बाटो नहुनु हो ।
एउटा सम्वादाता राष्ट्रिय मिडियाको रिपोटर, त्यति नभए मोफसलका पत्रिकाको सम्पादक बन्ने हैसियत राखेर काम गर्ला तर प्राविधिक जुन पदमा छ त्यही पदमा सिमित हुनुपर्छ ।
त्यस्तै अर्को चुनौति हो बढ्दो अनलाइन पत्रकारिता । अनलाइनको तिब्र विकासले एक दिन छापा पत्रकारितालाई विस्थापित गर्ने छ र प्राविधिकहरुको रोगजारी गुम्नेछ । अनलाइन र शोसल मिडियाले अहिलेको छापा पत्रकारितको स्थान ओगट्ने छन् । अनलाइन पत्रकारितामा प्राविधिकको स्थान नगग्ने रहन्छ । तसर्थ अनलाइन पत्रकारिताको तिब्र विकास पनि छापा माध्यमका प्राविधिकको लागि एक चुनौती हो ।
सम्भावना :
जुन क्षेत्रमा चुनौतीहरु हुन्छन्, सम्भावनाहरु पनि त्यही क्षेत्रमा हुन्छन् । हाल सुर्खेतमा छापा माध्यममा कार्यरत प्राविधिकहरुलाई जति समस्या छ, सम्भावनाहरु पनि त्यति नै छन् । भर्खरै मात्र व्यवसायिक पत्रकारिताको अभ्यास शुरु भएको छ । प्रविधि र प्राविधिकलाई बुझ्ने केही मिडिया सञ्चालक र सम्पादकहरु पनि जम्मेका छन् । यसरी पत्रकारिताको मर्मलाई बुझ्ने जनशक्ति तयार भएको खड्मा पत्रकारिता व्यवसायिक रुपमा अगाडि बढ्छ र प्राविधिकहरुलाई सहज वातावरणको सिर्जना हुन्छ ।
सम्भावना यतिमात्रै होइन, सुर्खेत अब भन्ने प्रदेशको प्रादेशीक राजधानी हो । सुर्खेत प्रादेशीक राजधानी बनेको खण्डमा मिडियाहरुमा पनि बाह्य लगानी भित्रिर्ने छ । पत्रपत्रिकाहरु ब्रोसिडमा प्रकाशित हुनेछन् र त्यहाँ प्राविधिकको मूल्याङ्कन हुनेछ । यसका साथै ठूला मिडियामा उचित पारिश्रमिक र सम्मान पनि उत्तिकै हुनेछ ।
(लेखकः मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा आमसञ्चार र पत्रकारिताका विद्यार्थी हुन् ।)



