देउवा-ओलीवीच सहमति, अब संसद सूचारु हुने !

काठमाडौं, २७ मंसिर । सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच संसद सूचारु गर्ने सहमति भएको छ ।
आईतबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा अपरान्ह भएको भेटमा दुई नेताहरुवीच संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई तत्काललाई थाँती राखेर निर्वाचनसम्बन्धी ऐन तथा कानूनहरु पारित गर्ने संसदमा दर्ता भएको अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव छिनाफानो गरेपछिमात्रै संशोधन प्रस्तावलाई टुँगो लगाउने सहमति बनेको छ ।
भेटपछि बाहिरिँदै काँग्रेस सभापति देउवाले पछिल्लो समयमा दलबीच विश्वासको सङ्कट आएको हुँदा सहमति र सहकार्यबाट समस्याको समाधान खोज्नुपर्ने विषयमा कुरा भएको जानकारी दिए ।
भेटमा सभापति देउवाले सहमति र सहकार्यबाट अघि बढ्नुपर्नेमा जोड दिएको बताउँदै ओलीसँगको आजको भेट सकारात्मक भएको समेत स्पष्ट पारे । उनले भने,“भेट सकारात्मक भयो, उहाँसँग गम्भिर रुपमा छलफल भएको छ ।”
उता एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले दुई नेताहरुवीच समसामयिक विषयमा सौहार्द्रपूर्ण र सकारात्मक छलफल भएको र यसलाई निरन्तरता दिनेबारे छलफल भएको जानकारी दिए ।










