‘प्रचण्ड र ओली’पछि पालो ‘ओली र देउवा’को

काठमाडौं, २६ मंसिर । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेपछि एमाले अध्यक्ष केपी ओली र प्रचण्डबीच सम्बन्ध हार्दिक हुन सकेन । किनकी, माओवादीले समर्थन गरेको ओली नेतृत्वको सरकार माओवादी र कांग्रेसले उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि ओलीले राजीनामा दिनुपरेको थियो ।
ओलीले राजीनामा दिंदा यसका लागि पर्दापछाडीका खेलाडी कांग्रेस सभापति शेरबहादुर देउवा चुपचाप थिए । किनकी उनले तत्कालीन सत्ता गठबन्धन दोस्रो धक्कामा ढाल्न सफल भएका थिए । ओली सरकार ढलेपछि देउवा चुपचाप हुन पुगे । तर, दुष्मनी प्रचण्ड र ओलीको हुन पुग्यो । सत्ताबाट बाहिरिनुपरेपछि ओली प्रचण्डमाथि आक्रामक बन्न पुगे । यसमा सत्ता ढालेपछि देउवा यी दुई नेताको वाकयुद्ध हेर्दै चुपचाप बस्दै आएका थिए ।
तर, अहिले तिनै चुपचाप बस्दै आएका देउवा ओलीविरुद्ध आक्रामक हुन थालेका छन् । केही दिन अघि राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा डाकेको सर्वदलीय छलफलमा ओलीविरुद्ध देउवा एकदमै आक्रामक भएर प्रस्तुत भएका थिए ।

संविधान कार्यान्वयनका लागि संविधान संसोधन गर्नेपर्ने र यस अघि कांग्रेस, एमाले र माओवादीले पनि संसोधनमा प्रतिवद्धता जनाएको भन्दै देउवाले सहमति जनाउन ओलीलाई आग्रह गरे पनि उनले त्यत्तिकै उडाएका थिए । साथै, देउवाले बोलिरहँदा ओलीले नजिकै रहेका वामदेव गौतमसँग कानेखुशी गरेर बसेपछि देउवाले जंगिएर ओलीतिर हेर्दै ‘ओ मिस्टर चुप, ओ मिस्टर चुप, ओ मिस्टर चुप’ भनेका थिए । देउवाले सर्वदलीय बैठकमा नै यसो भनेपछि ओली बैठकस्थल छोडेर हिँडेका थिए ।
तर, देउवा एमालेका यी अध्यक्ष ओलीविरुद्ध आक्रामक हुन छोडेका छैनन् । आन्तरिक भेटघाटमा होस् की सार्वजनिक कार्यक्रममा होस् एमालेकै कारण संसोधन अलपत्र पर्न लागेको भन्दै देउवा ओलीमाथि नै खनिंदै आएका छन् । कांग्रेस निकटका कर्मचारीको विधान अधिवेशन उद्घाटन गर्दै देउवाले शुक्रबार ओली समुदायबीच भाँडभैलो ल्याउने पात्र भएको आरोप लगाएका थिए । मिलेर बस्दै आएका पहाडे र तराईका समुदायबीच विभाजन ल्याउने अरु कोही नभएर एमाले अध्यक्ष केपी ओली नै भएको आरोप देउवाले लगाएका थिए ।
दुई दिन अघि संविधान संसोधनको सकस फुकाउनका लागि सभामुख ओनसरी घर्तीले राखेको छलफलमा पनि देउवा र ओली छुट्टै पुगे । संयुक्त छलफल गर्न पनि मानेनन् । संसोधनको विषयमा आपत्ति जनाउँदै एमालेले संसद अवरुद्ध गर्दै आएको छ । तर, गाँठो फुकाउन पहिलो र दोस्रो ठूलो दल सिरियस भएर लागेका छैनन् । एमालेकै कारण पाँचौ पटकसम्म संसद अवरुद्ध हुँदै आएको छ । प्रतिपक्षीले आफ्ना कुरा राख्ने र संसद अवरुद्ध गर्दै आएको दुई हप्ता बिते पनि ओली र देउवा यो गाँठो फुकाउनभन्दा आपसी वादविवादमा उत्रिएका छन् ।
ओलीले देउवा र संसोधन प्रस्ताव ल्याउनेलाई राष्ट्रघात गरेको आरोप लगाउँदै आएका छन् । तर, देउवासहितका नेताहरु यस अघि सुशील कोइराला र ओलीले नै हस्ताक्षर गरेको विषय संविधान संसोधनमा आएको भन्दै अहिले आपत्ति जनाउनै नपर्ने बताउँदै संसोधनको प्रतिरक्षामा उत्रिएका छन् । तर, निकास के हुने भन्नेमा अग्रसर छैनन् । दुई ठूला दलका नेता यसरी आरोप प्रत्यारोपमा उभिंदा सरकारको नेतृत्व गरिरहेका प्रचण्डको पनि गतिलो अग्रसरता देखिएको छैन ।
उनी दुई दिन पश्चिम नेपालको यात्रामा निस्किए तर, राजनीतिक निकासका लागि घोत्लिने र विभाजित हुँदै गएका दललाई एकठाउँमा ल्याएर संवाद गराउन सकिरहेका छैनन् ।
nepaliheadlines










