बोनम प्रतापले जिते साताको साहित्य पुरस्कार (कवितासहित)

sss‘साताको साहित्य डट कम’ले वर्षेनी प्रदान गर्दै आएको ‘साताको साहित्य पुरस्कार’ यस वर्ष पुरस्कार कवि बोनम प्रतापलाई दिने घोषणा गरिएको छ। उनले ‘म नि सुन्दर थिएँ नि’ शीर्षकको कविताबाट पुरस्कार जित्न सफल भएका हुन्। वैदेशिक रोजगारीका क्रममा यतिबेला दक्षिण कोरियामा रहेका प्रतापले पुरस्कारस्वरुप बीस हजार रुपैयाँ पाउनेछन्।
पाठक प्रतिक्रिया र साताको साहित्यको छनौटका आधारमा केही समयअघि साताको साहित्यले हरेक बर्षझैँ तीन उत्कृष्ट रचनाहरूको मनोनयन सार्वजनिक गरको थियो। जसमा अन्य दुई उत्कृष्ट रचनाका रुपमा कवि जीवन खत्रीको कविता ‘एउटा खस्रो चित्र’ र गजलकार कमल संघर्षको गजल मनोनित भएका थिए। तत्पश्चात चार सदस्यीय निर्णायक समितिले सर्वोत्कृष्ट रचनाको रुपमा बोनम प्रतापको रचनालाई बहुमतको आधारमा चयन गरेको हो। निर्णायक मण्डलमा साताको साहित्य डटकमका सम्पादक निष्प्रभ सजी, कवि महेन्द्र पौडेल, नेपाली पत्र, अष्ट्रेलियाका सम्पादक ऋषि आचार्य, नेपाली टाइम्स, अष्ट्रेलियाका सम्पादक  सुजित सिग्देल थिए।
‘असल साहित्यकारले पुरस्कार र सम्मान होइन, पुरस्कार र सम्मानले असल साहित्य र साहित्यकारको खोजी गर्नु पर्दछ’ भन्ने उद्घोषका साथ साताको साहित्य डट कमले हरेक बर्ष आफ्नो वेबसाइटमा  अगष्ट २०१५ देखि जुलाई २०१६ सम्म प्रकाशित भएका रचनाहरूमध्येबाट पाठकहरूको प्रतिक्रिया र निर्णायकहरूको निर्णयको आधारमा पुरस्कृत रचनाको छनौट गर्ने गरेको सम्पादक निष्प्रभको भनाइ छ।
यसअघि साताको साहित्य पुरस्कार रवीन्द्र समीर, रमेश सायन, मुकुन्द प्रयास र नवराज पराजुलीलाई दिइएको थियो।
पुरस्कार जित्ने कविता-म नि सुन्दर थिएँ नि !
सम्झन्छु,
त्यो पुरानो किताब कहाँ होला!
किताबभित्र राखेको मयूरको प्वाँखले बच्चा पार्यो कि पारेन!
म नाङ्गै नुहाएको चीसाङ्गको पानी
मलाई छोएर कहाँ पुग्यो होला अहिले
कागजको डुङ्गा कहाँ पुग्यो
हो म त्यहि जमनाको कुरा गर्दैछु
त्यो जमाना पनि सुन्दर थियो
म पनि सुन्दर थिएँ!
इन्द्रेणीले बक्रा खोलाबाट पानी तान्थ्यो
साँच्चै, भोलिपल्ट मुसलधारे पानी पर्थ्यो
काँसको फूल चडेर मच्छडहरू कासी जान्थे
ढाँटेको होईन!
काँसको फूल उडेपछि मच्छडहरु पनि गायब हुन्थे
मधेशको चर्को गर्मीमा
म खुर्सानी बारीको हावा बोलाउथेँ
साचै कहाँबाट आउँथ्यो त्यो चीसो बतास!
म हत्केलामा थुक र परेला राखेर उछिट्याउथें
विद्याकसम!
हराएको गुच्चा फ्याटै भेट्टाथेँ
खै………!
मलाई छोएर गएको खुर्सानी बारीको हावा कुन बाटो गयो
हावामा उडेका काँसको फूलहरू
कासी पुगे कि पुगेनन्!
हो म त्यो जमनाको कुरा गर्दै छु।
तपाईंलाई थाहा छ?
त्यो जमाना उन्नाइस ओटा गुच्चाले पछि पर्‍यो नि,
अहिले कहाँ एउटा सिक्कामा बीस ओटा गुच्चा आउँछ र?
बक्रा खोला पारीबाट घाम उदाउँथ्यो
चीसाङ्ग पारी भएर अस्ताउँथ्यो
जहिलेदेखि थाहा पाएँ
बक्रा र चीसाङ्ग भन्दा क्षितिज टाढा छ
जिन्दगी जटिल त्यहीदेखि त भएको हो
अहिले जस्तो छल्कपट आउँदैनथ्यो मलाई
यो दारीजुँगाले भरिएको अनुहार पनि थिएन
हिजो-आज ऐना हेर्छु
कुरुप देख्छु आफैंलाई
एकदमै कुरुप
पत्याउनु हुन्न होला
म पनि सुन्दर थिएँ नि !




error: Content is protected !!