छोटी भन्सार पुनःस्थापित नहुँदा राजस्व चुहावट

choti-bhansarइलाम । सशस्त्र द्वन्द्वका समयमा विस्थापित इलामका छवटा छोटी भन्सार कार्यालय अझै पनि पुनःस्थापित नहुँदा राजस्व चुहावट नियन्त्रण हुन सकेको छैन ।

द्वन्द्वका समयमा असुरक्षाको कारण देखाउँदै विस्थापित छोटी भन्सार पुनःस्थापना नभएपछि खुला सिमानाको फाइदा उठाउँदै सीमावर्ती क्षेत्रमा तस्करीसमेत बढेको छ ।

मेमेङ, च्याङ्थापु, छिरुवा, बन्दुके, माइमझुवा र छव्बिसे छोटी भन्सार कार्यालय अहिलेसम्म पुनःस्थापना हुन नसकेका हुन् । विस्थापित भएका छोटी भन्सार कार्यालयमध्ये अहिले मानेभञ्ज्याङ र तुम्लिङ पुनःस्थापित भएको पशुपतिनगर भन्सार कार्यालयले जनाएको छ ।

छोटी भन्सार कार्यालय पुनःस्थापना नभएपछि लत्ताकपडा, निर्माणका सामग्री, विद्युतीय सामान, सवारीसाधनका पार्टपुर्जा र पेट्रोलियम पदार्थको चोरी निकासी बढेको स्थानीयवासी बताउँछन् । बिना भन्सार निर्यात भएका सामग्री इलामका ग्रामीण सडक हुँदै रातारात इलाम, पाँचथर र ताप्लेजुङसम्म पुग्ने गरेका छन् ।

नेपालतर्फ छिर्ने ३०० भन्दा बढी अवैध गोरेटो बाटा भएकाले तस्करले भन्सार छलेर भारतीय सामान नेपाल भित्र्याउने गरेका छन् । तस्करले रातको समयमा सामान भित्र्याउने गरेकाले नियन्त्रण गर्न कठिनाइ भएको भन्सार कार्यालयले जनाएको छ ।

सडक मर्मत नहुँदा यात्रुलाई सास्ती

वर्षायाममा क्षतिग्रस्त जिल्लाका ग्रामीण सडक अझैसम्म मर्मत नहुँदा यात्रु समस्यामा परेका छन् । सदरमुकामबाट गाउँ जोड्ने कच्ची सडक समयमै मर्मत नहुँदा यात्रु समस्यामा परेका हुन् । सडक मर्मत नहुँदा बाँझो र साकफाराबाट झापाको दमक, बिर्तामोड छिचोल्दै सदरमुकाम पुग्नुपर्ने बाध्यता कात्तिक महिनासम्ममा पनि अझै हटेको छैन ।

गत वर्षबाट कच्ची सडक खुलेको बाँझो लारुम्बा माङ्सेबुङसम्मको बाटो मर्मत नहुँदा झापा हुँदै सदरमुकाम इलाम बजार आउनुपरेको स्थानीयवासी जितेन पन्धाक बताउँछन् । क्षतिग्रस्त ग्रामीण सडक निर्माणका लागि सरकारी निकायले चासो नदिँदा दसैँ–तिहारजस्ता चाडपर्वमा समेत स्थानीयवासी नागरिक किनमेल तथा बिरामी पर्दा पैदल हिँड्न बाध्य भएका थिए ।

इलाममा भएका एक सय बढी कच्ची सडकमध्ये ३० वटा सडकको मात्र जिविसले गाविसमार्फत मर्मत सुरु गरेको जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत छविलाल खतिवडाले बताउनुभयो । रासस





error: Content is protected !!