जिल्ला शिक्षा कार्यालयमा पनि विद्युतीय हाजिरी

aaa पर्वत,- जिल्ला शिक्षा कार्यालय पर्वतमा विद्युतीय हाजिरी सेवाको शुरुवात भएको छ । कर्मचारीतन्त्र र सुशासनलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयबाट शुरु भएको विद्युतीय हाजिरी अहिलेसम्म शिक्षा कार्यालय सहित छ ओटा कार्यालयमा सञ्चालनमा आइसकेको छ । विद्युतीय हाजिरी प्रणाली थपिनेमा जिल्ला वन कार्यालय, जिल्ला विकास समिति, जिल्ला कृषि विकास कार्यालय, जिल्ला मालपोत कार्यालय, भू–संरक्षण कार्यालय र जिल्ला शिक्षा कार्यालय रहेका छन् ।

३७ ओटा सरकारी कार्यालय रहेको पर्वतमा क्रमशः विद्युतीय हाजिरी मेशिन जडान गरिनेछ । कार्यालयको कामप्रति कर्मचारीलाई जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले पर्वतका सरकारी कार्यालयमा यो प्रणाली लागू गर्न लागिएको हो । कार्यालयको कामप्रति कर्मचारीलाई जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले धौलागिरि अञ्चलमै पहिलोपटक पर्वतका सरकारी कार्यालयमा मेसिन जडान गर्न लागिएको हो ।

सरकारी कार्यालयमा विद्युतीय मेशिनबाट हाजिरीको शुरुआत गर्नाले किर्ते हाजिरी गर्ने प्रवृत्ति अन्त्य हुने र अनुगमन कार्यमा समेत सहजता आउने सम्बन्धित कार्यालय प्रमुखहरूले बताएका छन् । दैनिक औंठाको छाप कम्प्युटरमा जडान गरिने र महीना पुगेपछि सबै कर्मचारीको हाजिरी कम्प्युटरबाट प्रिण्ट गरिने भएकाले कर्मचारीहरू समयमै कार्यालयमा आउने गरेको पनि उनीहरूको भनाइ छ ।

कर्मचारीहरू समयमा कार्यालय नआउने जनगुनासो आइरहेको र सर्वसाधारण नागरिकको काम सहज रूपमा गर्ने वातावरण मिलाउन विद्युतीय मेशिनले ठूलो टेवा पुग्ने पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी प्रवीन ढकालले बताए । उनका अनुसार पहिलो चौमासिकसम्ममा सम्पूर्ण सरकारी कार्यालयमा विद्युतीय हाजिरी मेशिन जडान गरिसकिनेछ । सरकारी कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था हुँदा जिल्लामा कीर्ते हाजिरी गर्नेको अन्त्य हुने र अनुगमन कार्यमा पनि सहजता हुने भएको छ ।

दैनिक हाजिरी रजिष्ट्रारमा हाजिर गर्दा कर्मचारी कुनबेला कार्यालयमा आए र गए त्यसको बारेमा सही जानकारी हुन नसक्ने कार्यालयमा पूरै समय समेत नबस्ने गरेको अवस्थामा विद्युतीय माध्यमबाट हाजिर गर्दा कुन बेला आए र कुन बेला गए भन्ने बारेमा समेत जानकारी लिन सकिने प्रमुख जिल्ला अधिकारी मरासिनीले जानकारी दिए ।





error: Content is protected !!