कानून शिक्षा : अवसर बढ्दो, जनशक्ति कम

eeeeeeदेशमा अहिले त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयबाट कानून विषयमा पढाइ भइरहेको छ, जसमध्ये नेपाल ल क्याम्पस पूर्णरूपमा कानून मात्र पढाइ हुने त्रिभुवन विश्वविद्यालयको प्रमुख क्याम्पस हो । त्यस्तै, स्कूल अफ ल काठमाडौं विश्वविद्यालयको कानूनमात्र पढाइ हुने एकमात्र क्याम्पस हो ।

यीबाहेक त्रिभुवन विश्वविद्यालयअन्तर्गत नै धरान, राजविराज, बुटवल, पोखरा र नेपालगञ्जमा पनि यो विषयको अध्ययनअध्यापन भइरहेको छ । त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत तीनओटा क्याम्पसमा कानून विषय पढाइ हुँदै आएको छ ।

नेपाल ल क्याम्पसले हाल स्नातक तहमा एलएलबी र बीएएलएलबीका साथै स्नातकोत्तर तहमा एलएलएमका कार्यक्रम सञ्चालन गरिरहेको छ । कुनै पनि सङ्कायबाट स्नातक गरेकाहरू तीनवर्षे एलएलबीमा अध्ययन गर्न पाउने व्यवस्था छ । त्यसैगरी कुनै पनि सङ्कायबाट प्लस टू गरेकाका लागि पाँचवर्षे बीएएलएलबीको व्यवस्था छ ।

स्नातक तहमा बिहानी र दिवा कक्षा सञ्चालन भइरहेको एलएममा तीनवर्षे र दुईवर्षे कार्यक्रम छन् । सेना, प्रहरीका साथै निजामती सेवामा कानूनी ज्ञानको आवश्यकता परेसँगै उक्त क्षेत्रहरूबाट ल पढ्न आउनेको उपस्थिति बढेको छ । कोही माथिल्लो तहका लागि लड्न त कोही सेवा परिवर्तन गर्न पनि यो विषय पढ्न आउने गरेको नेपाल ल क्याम्पसका प्रमुख कर्णबहादुर थापा बताउँछन् । यो वर्गको उपस्थिति लगभग ५० प्रतिशत रहेको र बाँकी ५० प्रतिशत फ्रेश विद्यार्थी आउने गरेको जानकारी उनले दिए । ल क्याम्पसमा एलएलबी र एलएलएममा ४० प्रतिशतभन्दा बढी छात्रा रहेका छन् ।

३ वर्ष अघिबाट शुरू भएको स्कूल अफ लमा हाल १ सय २० विद्यार्थी रहेका छन् । व्यवस्थापन कानून ९बीबीएम एलएलबी० मात्र पढाइरहेको स्कूल अफ लले हाल वार्षिक ४० देखि ४४ जना मात्र भर्ना लिने गरेको छ । ‘आवेदन दिन आउने विद्यार्थीको सङ्ख्या त दोब्बरभन्दा पनि बढी छ,’ क्याम्पस प्रमुख डा। विपीन अधिकारी भन्छन्, ‘तर, आफ्ना विद्यार्थीले सर्टिफिकेट पाएको १ वर्षभित्र रोजगारी पाउने अवस्था आएपछि मात्रै कोटा थप्ने विश्वविद्यालयको नीतिअनुरूप नै हामी अघि बढिरहेका छौं ।’

पूर्वाञ्चल विश्वविद्यालयका तीनओटै क्याम्पसमा गरी हाल ८ सय ६६ जना विद्यार्थीले कानून विषय अध्ययन गरिरहेका छन् । उनीहरू यस विश्वविद्यालयका बीएएलएलबी र एलएलएम दुवै तहमा अध्ययन गरिरहेका छन् ।

ठूलो सङ्ख्यामा विद्यार्थी भर्ना लिइरहेको नेपाल ल क्याम्पसले पनि आएजति सबै विद्यार्थी भर्ना लिन सक्ने क्षमता नरहेको क्याम्पस प्रमुख थापा बताउँछन् । कानूनको पनि कुन पक्षमा कति उत्पादन निकाल्ने भन्ने अन्योल क्याम्पसहरूलाई रहेको उनको भनाइ छ । स्कूल अफ लको भने आफ्नै योजना रहेको छ । ‘पहिले, अहिले हामीले निकालिरहेको जनशक्तिमा अवसरको सुनिश्चितता छ÷छैन अध्ययन गर्छौं,’ क्याम्पस प्रमुख अधिकारी भन्छन्, ‘त्यसपछि नयाँ विषय ल्याउनेतर्फ सोच्छौं ।’ स्कूल अफ लले अनुसन्धानमा आधारित स्नातकोत्तर कार्यक्रम पनि छिट्टै नै शुरू गर्दै छ । क्याम्पसले अनुसन्धान तथा प्रयोगात्मक विधिको शिक्षणमा बढी जोड दिने गरेको छ ।

कानून विषयका अवसर क्षेत्रहरू
तुलनात्मक रूपमा कम खर्चमा पढाइ हुने यो सङ्कायका उत्पादनका लागि निजामती सेवा, सेना, प्रहरी, परराष्ट्र, व्यावसायिक क्षेत्र, वकालत, कानून सेवाका साथै गैरसरकारी क्षेत्रहरूमा राम्रो अवसर छ । देशलाई यो विषयका यति नै जनशक्ति आवश्यक छ भन्ने तथ्याङ्क राज्यसँग छैन । तर पनि हरेक वर्ष आएका यो जनशक्तिको मागको तुलनामा आधा पनि परिपूर्ति हुन सकिरहेको छैन । यसो हुनुमा यसैमा करीअर बनाउने योजनासहित आउने विद्यार्थीको कमी तथा पूरै समय पढाइमा लगाउने भन्दा पनि अन्यत्र काम गर्दै पढ्ने परिपाटी बढी जिम्मेवार रहेका छन् ।

सर्वसाधारणका हकमा कानून
भनिन्छ, कानून लाग्छ भन्ने थाहा थिएन भनेर गरेको अपराध माफ हुँदैन, सजाय हुन्छ नै । कानून सबैले पढ्ने विषय नभए पनि सामान्य कानून सबैले थाहा पाउनुपर्छ । घर, परिवार, समाज, व्यावसायिक जीवन जस्ता कुरामा आफ्नो अधिकार र कर्तव्यसँग सम्बन्धित सामान्य कानून सबैले जान्दा राम्रो हुन्छ । त्यसका लागि एउटा उपाय भनेको विद्यालय शिक्षामा यी कुराहरूको समावेश गरेर र अर्को सञ्चारमाध्यम तथा अन्य कार्यक्रमबाट जनचेतना जगाउन सकिन्छ । यदि आम नागरिकमा कानूनको जानकारी हुने हो भने समाजमा हिंसा कम हुने र अञ्जानमा भएका गल्ती अपराध सावित भई सजाय भोग्नुपर्ने अवस्थामा कमी आउन सक्छ ।





error: Content is protected !!