जाजरकोटमा शैक्षिक सुधार

जाजरकोट । जाजरकोट जिल्लालाई शैक्षिक सुधार वर्ष घोषणासँगै सरोकारवाला निकायले पनि चासो बढाएका छन् । यहाँको शैक्षिक सुधार र सामुदायीक विद्यालय भन्नसाथ कमजोर पढाइ हुने भनी बुझ्ने परिपाटीलाई बदल्न सरोकारवाला एक जुट भएका हुन् । दशैँ तिहारको बिदा सकिए लगत्तै जिल्लाका सबै विद्यालयमा अनुगमनसँगै शिक्षकको नियमित उपस्थितिलाई कार्यान्वयन गर्न जिल्ला शिक्षा कार्यालयले सक्रियता बढाएको छ ।

कार्यालयले शैक्षिक क्यालेण्डरलाई कडाइका साथ कार्यान्वयन गर्न र विद्यार्थीको पढ्न पाउने अधिकारबाट सुरक्षित गर्न नियमित छड्के जाँच गर्ने गरेको छ । जिल्ला शिक्षा अधिकारी ललितबिक्रम सिंह आफैँले स्थानीय राजनीतिक दल, नागरिक समाज र अन्य बुद्धीजीवीलाई विद्यालय खुलेको वा नखुलेको, नियमित पढाइ भए, नभएको भनी कार्यालयबाट टेलिफोन समेत गरी जानकारी लिने गरेको पाइएको छ ।

विद्यालय व्यवस्थापन समिति गठन गर्दा सहमतिमा गर्न दबाव दिँदै आएको जिल्ला शिक्षा कार्यालयले जिल्लाका ६० प्रतिशत भन्दा बढी विद्यालयले सहमतिमा विद्यालय व्यवस्थापन समिति गठन गरेको जानकारी दिएको छ । सहमति अनुसार समिति गठन नहुँदा जिल्लाका अधिकाङ्श विद्यालयको शैक्षिक गुणस्तर खस्किएको भन्दै कार्यालयले सहमतिको कुरा अगाडि सारेको जिल्ला शिक्षा अधिकारी सिंहको भनाइ छ ।

जाजरकोटमा अधिकाङ्श विद्यालयमा विद्यार्थी अनुसारको विद्यालयमा दरबन्दी नहुनु, अस्थायी स्वीकृति लिएर विद्यालय सञ्चालन हुनु जस्ता समस्या रहेका छन् । जिल्ला शिक्षा कार्यालयको यो अभियानलाई साथ दिन प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले पनि विद्यालय अनुगमण निरीक्षण गर्ने गरेको पाइएको छ । भौतिक पूर्वधारको समुचित वितरणका लागि एक विद्यालय एक भौतिक पूर्वाधार हुनुका साथै सबै विद्यालयलाई फर्निचरयुक्त विद्यालय बनाउने अभियान समेत शुरु भएको छ ।

यसै वर्षदेखि नमुना विद्यालय निर्माणकार्य शुरु भई जिल्लाका ११ स्थानमा नमुना विद्यालय समेत निर्माण भइसकेको कार्यालयले जनाएको छ । विद्यालयमा महिनावारी हुँदा छात्रालाई पर्ने असर र सोही कारणले विद्यालय नै छाड्नुपर्ने समस्या हल गर्न प्रत्येक विद्यालयमा जिल्ला स्वास्थ्य कार्यालयको सहकार्यमा प्याडको व्यवस्था समेत गरिएको छ । यो व्यवस्थासँगै छात्राहरुको विद्यालयमा पढाइमा हुने समस्या हल भएको छ ।

विद्यालय खुल्ने समयमा शिक्षक विद्यालयमा नगएको पाइएमा नेपाल प्रहरीले बिदामा बसेको हो या होइन त्यसबारेमा जिल्ला शिक्षा कार्यालयमा जानकारी दिन थालेपछि कामचोर शिक्षक तह छन् । रासस





error: Content is protected !!