लमजुङका १० विद्यालयको पुनर्निर्माण तथा मर्मत गरिँदै

eduलमजुङ । भूकम्पबाट पूर्ण क्षतिग्रस्त लमजुङका १० विद्यालयको पुनर्निर्माण तथा मर्मत थालिएको छ । वर्ल्ड भिजन लमजुङले सिकाइका लागि सुरक्षित वातावरण परियोजनाअन्तर्गत विद्यालय पुनर्निर्माण र मर्मत थालेको हो । सन् २०१६ देखि २०१७ सम्मको यस परियोजनामा भवन पुनर्निर्माण, मर्मत, विपद् व्यवस्थापनसम्बन्धी शिक्षा, शौचालय, खानेपानी र सरसफाइका काम अगाडि बढाइएको परियोजना प्रमुख मदन रानाले बताए ।

बृहत् विद्यालय सुरक्षा ढाँचाको अवधारणाअन्तर्गत सञ्चालित यस परियोजनाको कुल बजेट २ करोड ३५ लाख छ । ‘विद्यालय भवन निर्माण र मर्मतमा ढेड करोड र खानेपानी तथा शौचालय मर्मतका लागि ३५ लाख रकम छुट्ट्याइएको छ,’ परियोजना प्रमुख रानाले भने, ‘बाँकी रकम विपद् व्यवस्थापनसम्बन्धी शिक्षालगायत क्षेत्रमा खर्च खरिनेछ ।’

वल्र्ड भिजन लमजुङको कार्यक्षेत्र रहेको ९ गाविसका ५२ विद्यालयमध्ये २१ विद्यालय भूकम्पबाट क्षतिग्रस्त छन् । यीमध्ये अतिप्रभावित १० विद्यालय छनोट गरी जिल्ला शिक्षा कार्यालयसँग समन्वयपछि परियोजनाअन्तर्गत निर्माण, मर्मतलगायत कार्य अघि बढाइएको हो ।

सन् २०१६ को जनवरीबाटै परियोजनाअन्तर्गत काम थाल्ने योजना रहे पनि विविध कारण मार्चबाट मात्र निर्माण प्रक्रिया अघि बढेको रानाले बताए । त्यस्तै, पुनर्निर्माण प्राधिकरणको अनुमति पाउन समय लागेकाले जुलाईबाट निर्माण थालिएको हो । परियोजनाअन्तर्गत २०१६ को कार्यक्रममा चार विद्यालयका भवन निर्माण भइसकेका छन् । २०१६ को बजेट ६२ लाख ५२ हजार रहेकोमा ३५ लाख ४३ हजार रुपैयाँ खर्च भएको छ । बाँकी २७ लाख ८ हजार सन् २०१७ को कार्यक्रममा थप गरिने बताइएको छ । २०१७ को कार्यक्रमअन्तर्गत बाँकी भवन र शौचालय निर्माण तथा मर्मतको काम तीव्र रूपमा अघि बढाइएको छ ।

आगामी सन् २०१७ को मेसम्ममा सबै काम सक्नेगरी काम भइरहेको परियोजना प्रमुख रानाले जानकारी दिए, जसअन्तर्गत चण्डेश्वर प्रावि चण्डीस्थान, जनविकास उमावि बेसीशहर, महेन्द्र मन्दिर मावि परेवाडाँडा, आदर्श प्रावि सुन्दरबजार र विद्याज्योति उमावि तार्कुको विद्यालय भवन निर्माण भइरहेको छ । भवन निर्माण कार्य १ महीनाभित्र सम्पन्न हुने परियोजना प्रमुख रानाले बताए ।

बालविद्याश्रम प्रावि गाउँशहर, यशोब्रह्म मावि बेसीशहर, समाजसेवा प्रावि तार्कु, अन्नपूर्ण मावि नाल्मा र चन्द्रज्योति निमावि बागलुङपानीको भवन पनि मर्मत भरहेको छ । १० विद्यालयअन्तर्गत आठओटामा खानेपानी निर्माण र मर्मत थालिएको छ भने पाँच विद्यालयमा शौचालय निर्माण र मर्मत गरिएको छ ।





error: Content is protected !!