माथिल्लो डोल्पामा किन वर्षमा एक मात्र बाली लगाइन्छ ?

हेमन्त केसी
सुर्खेत ः माथिल्लो डोल्पामा यतिबेला वर्ष भरी खानाका लागि रोपिएको उवा पाकेर नल र उवा छुट्याउने काम भइरहेको छ। अरू बाली रोप्न खोजे पनि उत्पादन नहुने समस्या छ। कात्तिकदेखि फागुनसम्म उपल्लो डोल्पामा हिमपातका कारण प्राकृतिक नाका बन्दी हुन्छ। एक गाउँबाट अर्को गाउँमा जान मुस्किल हुन्छ।

डोल्पाको सदरमुकाम दुनैबाट उपर डोल्पा जान र आउनका लागि सडक सञ्जाल जोडिएको छैन। पैदल मार्गबाट यहाँका स्थानीय आवश्यक सामग्री बोकेर लिने गरेका छन्।

माथिल्लो डोल्पाको तिब्बतसँग जोडिएको नाका १५ दिनका लागि खुलेपछि उपल्लो डोल्पामा स्थानीयबासीले खाद्यान्न, लत्ताकपडा देखि अन्य अति आवश्याक सामग्री खरिद समेत गरेको शे फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङछेन गुरुङले बताए।

उनले भने, ‘अब कात्तिकबाट माथिल्लो डोल्पामा हिमपात सुरु हुन्छ। चिसोका कारण बाली हुर्कन ढिला हुने भएकाले समस्या हुने गरेको छ। हिउँ धेरै परेको वर्षमा जेठ महिनामा उवा रोपेर कात्तिकमा भित्र्याउने काम हुन्छ भने, कम हिउँ परेको समयमा वैशाखमै उवा रोपेर असोजमा भित्र्याउने काम हुन्छ।ु

हिउँ धेरै परेको वर्षमा उत्पादन समेत बढी हुने र खेती फस्टाउने गरेका स्थानीयबासी किसान धावा गुरुङले बताए। वर्षमा एक मात्र बाली पाक्दा यहाँका किसानहरु अधिकांश आयतित अन्नबाट नै दैनिक छाक टार्दै आएका छन्। अधिकांश पाटन तथा हिमालयहरुले घेरिएको उपल्लो डोल्पा भेरी नदीको उद्गम स्थल पनि हो।

फोक्सुण्डो ताल देखि स –साना दर्जन बढी ताल तलैयाहरु उपर डोल्पामा रहेका छन्। उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका २ हजार ४२०, शे फोक्सुण्डो गाउँपालिका ३ हजार ६३५, छार्काताङसोङ गाउँपालिका १ हजार ६७२ जनसंख्या रहेको छ। समुन्द्री सतहदेखि करिव २ हजार ३०० देखि ७४२५ मिटर उचाइमा शे फोक्सुण्डो गाउँपालिका रहेको छ।

उच्च हिमाली क्षेत्रमा पर्ने गाउँपालिकाको सम्पूर्ण भूभाग हिमाल र डाँडा पाखा र समथर घाँसे मैदान रहेको छ। शे फोक्सुण्डो राष्ट्रिय निकुन्जको मध्यवत्ति क्षेत्रमा पर्ने केही भूभागमा पहाडी क्षेत्रको विशेषता रहे पनि अधिकांश क्षेत्रहरु उच्च हिमाल र सुक्खा क्षेत्र रहेको प्रमुख प्रशासकीय अधिकृत सुमन ढकालले जानकारी दिए।

यहाँ ठूला ठूला रुख र बोटविरुवा नहुने हुनाले अक्सिजन न्यून हुनुका साथै हिमपात तथा वर्षादका कारण रापा, नाम्दो, किरथाङ, साल्दाङ, तिलिङ, निजाल लगायका क्षेत्रमा कटान भारी मात्रामा हुँदै आएको छ। जसका कारण उक्त क्षेत्रका उब्जनशिल भूभागहरु कटान भई वगरको रुपमा परिणत भएको छ। ठण्डा शितोष्ण, चिसो शितोष्ण र न्यानो आद्र शितोष्ण हावापानी यस पालिकाको रहेको छ। यहाँको मुख्य वालीका रुपमा आलु , उवा र सिमी भएको पालिकाको कृषि शाखाले जानकारी दिएको छ। गाउँपालिकाका सूचना अधिकारी मणिराज पौडेलका अनुसार भारी मात्रामा बाहिरको खाद्यान्न आयात गर्नुपर्ने बाध्यता छ।

उपल्लो भागमा खाद्यान्नको धैरै समस्या हुने गरेको छ। वर्षमा एक मात्र बाली पाक्ने गरेकोले स्थानीय उत्पादनले यहाँका स्थानीयबासीलाई तीन महिना नपुग्दा बाहिरबाट नै खाद्यान्नको जोहो गर्नुपरेको उनले बताए।

त्यस्तै, अन्य पालिका जस्तै डोल्पोबुद्ध गाउँपालिका भोट क्षेत्रमा पर्दछ। यस क्षेत्रमा भोटे जातिका मानिसको बसोबास रहेको छ। यस क्षेत्रमा करिब ६ महिना हिउँ जम्ने हुदा यहाँका मानिसहरुको जीवनशैली निकै नै कष्टकर रहेको छ। यस क्षेत्रमा झारपात कुनै ठाउँमा बैश जातको विरुवाबाहेक अन्य कुनै ठुला जातिका रुख विरुवा पाइँदैन। शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जभित्र पर्ने यस डोल्पोबुद्ध गाउँपालिकाको भूभाग समुद्री सतहबाट झण्डै २८०० मिटर देखि ७०५० मिटरसम्मको उचाईमा रहेको छ। यहाँको क्षेत्रफल ११८३ वर्ग किलोमिटर रहेको छ। खेतीयोग्य जमिन २६५.३८ हेक्टर रहेको छ। यहाँ जम्मा ६ वटा मात्र बस्ती रहेका छन्।

वर्षमा एक मात्र बाली पाक्ने भएकाले यहाँका स्थानीयबासीहरु बाहिरबाट आयतित अन्नमा नै पर पर्नुपर्ने बाध्यता छ। गर्मी तथा वर्षातको समयमा मात्र यहाँ खेती हुने गर्दछ।





error: Content is protected !!