बाह्र महिना यातायात सञ्चालन गर्ने भेरी नगरपालिकाको लक्ष्य
हेमन्त केसी
सुर्खेत , १२ असार ः जाजरकोटको भेरी नगरपालिकाले १२ महिना यातायात सेवा सञ्चालन गर्नका लागि बजेट बिनियोजन गरेको बताएको छ । आर्थिक वर्ष २०८१/ ८२ लागि बजेट प्रस्ताव गर्दै नगरपालिकाले सबै वडामा अस्थायी ट्याक ओपनको कामहरु भइसकेको भन्दै नगरप्रमुख चन्द्रप्रकास घर्तीले अब १२ महिना यातायात सञ्चालन गराउने गरि आफूहरु केन्द्रीत भएको बताए ।
नगरपालिकाले ७२ लाख बजेट विनियोजन गर्दै अन्य अपुग रकम संघ र प्रदेश सरकारसँग समन्वन गरिने मेयर घर्तीले बताउनुभयो । नगरपालिकाले निर्माण गरेका सबै कच्ची सडक र वर्षायाम भत्किएका सडकहरु मर्मत गरेर सूचारु गर्नका लागि २१ लाख बजेट बिनियोजन गरेको मेयर घर्तीले जानकारी दिए । थाप्लेचौरमा रहेको वस पार्कलाई थप व्यवस्थित बनाउने कामलाई समेत मुख्य रुपमा राखिएको छ ।
अहिले भेरीले नगर बस समेत सञ्चालन गर्दै आएको छ । सबै वडाहरुमा १२ महिना सडक सञ्चालन भएमा नगर बस तथा अन्य सवारीसाधन चल्ने नगरपालिकाको अपेक्षा रहेको छ । भेरीले १ करोड ५० लाख आन्तरिक आम्दानी गरेको जनाएको छ । १ अर्ब ७ करोड ७६ लाख १३ हजार ३८१ रुपैयाँ बिनियोजन गरिएको नगरप्रमुख घर्तीले बताउनुभयो । २ करोड ८० लाख रुपैयाँ राजश्व उठाउने लक्ष्य लिइएको छ ।
ठुला सडक देखि ठुला नेता सम्म भेरीमै
भेरी करिडोर सडक आयोजनाको झण्डै ४० किलोमिटर भन्दा बढी सडक भेरी नगरपालिका भित्र पर्दछ । आलि देखि रिम्ना सम्मको सबै भागमा भेरी करिडोर पर्ने भएकाले भेरी नगरपालिकालाई सडकमा भारी लगानी गर्नु नपर्ने भएको छ ।
त्यस्तै सदरमुकाम सहित पाँचकाटिया सम्मको २२ किलोमिटर भन्दा बढी सडक लुम्विनी –रारा राजमार्गको अधिकांश भाग पर्ने भएकाले उक्त सडकमा समेत भेरी नगरपालिकाको आर्थिक भार कम पर्ने देखिन्छ । यो संघीय सरकारले सञ्चालन गर्दै आएको सडक आयोजना हो । पुप्पलाल मध्यपहाडी लोकमार्गको ८२ किलोमिटर जाजरकोट खण्ड मध्य २३ किलोमिटर भन्दा बढी भाग भेरी नगरपालिकाको कुदु देखि छेडागाड नगरपालिकाको सिमाना सम्म पर्ने भएकाले यही सडकसँग अधिकांश साना सडकहरु जोडने सके भेरी नगरपालिकालाई फाइदा हुने देखिन्छ ।
ति तीन वटा ठुला सडकको बीचमा भेरी नगरपालिका भएकाले नगरपालिका भित्र निर्माण कार्य जारी रहेका साना सडकहरु सदरमुकाम तथा अन्य ठाउँमा १२ महिना जोडन सहज हुने देखिन्छ । भेरी नगरपालिका जिल्लाको सबै भन्दा जेठो तथा जिल्लाको पुरानो नगरपालिका हो । यहाँ प्रदेश र प्रदेश सरकारका सबै कार्यालयहरु यही भएकाले काम गर्न सहज हुँदै आएको छ । भेरी नगरपालिका सबै भन्दा बढी नेता जन्माउने पालिका पनि हो । आर्थिक तथा राजनीतिक रुपमा पनि सबैको नजरमा रहेको भेरी नगरपालिका जिल्लाको इजजतसँग जोडिएको पालिकामा नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रप्रकास घर्तीले दुइ पटक सम्म नगरप्रमुख भएर नेतृत्व गरिसकेका छन् । जिल्लाका अन्य पालिका जस्तो सबै भौतिक संरचना निर्माण गनुपर्ने मध्यमा यो पालिका पर्दैन । यहाँका अधिकांश संरचनाहरु पहिले नै रहेका थिए ।
एकै पार्टीका एकै उम्मेदवारले दुइ पटक जितेका कारण पनि भेरी नगरपालिकालाई विशेष रुपमा हेर्ने गरिन्छ । माओवादी नेता तथा उर्जामन्त्री शक्तिबहादुर बस्नेत , पूर्वमन्त्री सत्य पहाडी , नेकपा माओवादी केन्द्रका कर्णाली इन्चार्ज कालिबहादुर मल्ल , राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्मा , यूवा नेता रामदिप आचार्य , एमालेका केन्द्रीय सदस्य निरज आचार्य , भैरव सुन्दर श्रेष्ठ , कांग्रेसका , मुक्ती आचार्यको पनि भेरीमै रहेको छ भने राजिव विक्रम शाहको पुख्यौली घर समेत भेरीमै रहेको छ । भेरी नगरपालिकामा ठुला नेताको घर जत्ता छन् उत्तै मुख्य सडकहरु रहेका छन् ।
जिल्लाका अन्य पालिका भन्दा भेरीमा सधैँ बढी नै बजेट बिनियोजन हुँदै आएको छ । प्रदेश र संघ सरकारले नै अधिकांश भेरीका सडकहरु निर्माण गरेको पाइएको छ । भेरी नगरपालिकाले अहिले ल्याएको बजेटमा समेत अधिकांश बुद्धाहरुमा प्रदेश र संघ सरकारसँग समन्वय गरेर काम गरिने छ भन्ने बाँक्य प्रयोग गरिएको छ ।