१७ दिनमै सरुवा लिएर फर्किए कर्णालीमा अर्थसचिव
सुर्खेत ः कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा वैशाख २७ गते हाजिर भएका अर्थसचिव विष्णुप्रसाद पौडेल १७ दिनमै फर्किएका छन् । उनले सरुवा लिई कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गएका छन् । पौडेलको आइतबार अर्थ मन्त्रालयले बिदाइ गरेको छ ।
यस्तै नयाँ अर्थ सचिवका रूपमा रविलाल शर्मा आइतबार नै हाजिर भएका छन् । अर्थ सचिव पौडेल आजसम्मकै सबैभन्दा कम समय कर्णालीमा बस्ने सचिव हुन् । उनी आउनुभन्दा अगाडि लामो समय सचिवविहीन भएको अर्थ मन्त्रालयमा उनी आएर बजेट सिलिङ वितरण गरेका थिए ।
०८० मङ्सिर २१ गते अर्थ सचिव भएर आएका रमेश न्यौपाने गत चैत ४ गते सरुवा लिएर काठमाडौँ फर्किएपछि अर्थ मन्त्रालय सचिवविहीन बन्यो । सचिव नहुँदा आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रिया नै सुरु हुन सकेन । पौडेलले आएर बजेटको सिलिङ वितरण गरेका थिए ।
जेठ पहिलो साताबाट मात्रै बजेट निर्माणको प्रक्रिया सुरु भए पनि पौडेलले छोटो समयमा नै सुरुवा लगेर गएका हुन् । नयाँ आएका सचिव शर्मा यो मन्त्रालयको १२ औँ सचिव हुन् । ०७४ सालयता अर्थ मन्त्रालयमा १२ वटा सचिव फेरबदल भएका छन् ।
पहिलो अर्थ सचिवका रूपमा आएका ढुण्डीप्रसाद निरौला ०७४ माघदेखि ०७६ वैशाख १२ गतेसम्म बसे । त्यसपछिका कुनै पनि अर्थ सचिव वर्षदिन कर्णालीमा बसेनन् । पछिल्लो पटक त ३–४ महिनामै सचिवहरू फेरबदल भइरहेका छन् ।
पौडेल भन्दा पहिलाका सचिव रमेश न्यौपाने जम्मा तीन महिना मात्र बसे ।
प्रदेश सरकारका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले संसद्मै यस्तो खालको प्रवृत्ति ठिक नभएको तर्क गरे । बजेट अधिवेशनको पहिलो बैठकमा शर्माले भने, ‘बजेटको सिलिङ एउटा सचिवले दिनुभयो, तर उहाँ गएर पनि अर्को आइसक्नुभयो, यस्तो अवस्थाबाट हामी कसरी माथि उठ्न सक्छौँ । कसरी सङ्घीयतालाई सही तरिकाले कार्यान्वयन गर्न सक्छौँ ?
शर्माले यस्तो खालको प्रवृत्तिले नै कर्णाली पछि पारिएको बताए । यस्ता खालका समस्याहरूलाई समाधान गर्नेतिर ध्यान दिन आवश्यक रहेको उनको भनाइ थियो ।