सामाजिक विकासमन्त्रीद्धारा पालिका प्रमुखसँग बजेट माथीको सुझाव माग

सुर्खेत १२ जेठ ः आर्थिक वर्ष २०८१–०८२ को लागि कस्ता विषय बस्तुहरु समेटने भन्ने विषयमा केन्द्रीत रही सामाजिक विकासमन्त्री बीरबहादुर शाहीले डोल्पाका जनप्रतिनिधिसँग शनिबार छलफल गर्नुभएको छ । मन्त्री शाहीले डोल्पाका सबै पालिकाका प्रमुख , जिल्ला समन्वन समितिका प्रमख लगाएतसँग बजेटमा समेटनुपर्ने विषय बस्तुका विषयमा केन्द्रीत हुँदै छलफल गर्नुभएको हो ।
छलफलमा जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारसिं रोकायले शिक्षा ,स्वास्थ्य क्षेत्रमा ठोस योजना बनाई काम गर्न सुझाव दिनुभयो । मुडकेचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले शिक्षा क्षेत्रको आमुल परिवर्तन विना अन्य कुरा सम्भव नभएकाले यसलाई हल गर्नुपर्ने सुझाव दिनुभयो । अध्यक्ष शाहीले भन्नुभयो , ‘ डोल्पा र सुर्खेतको निर्माण हुने भौतिक संरचनाको दर रेट एकै नहुने भएकाले भूगोल अनुसार बजेट बिनियोजन गर्नुपर्ने हुन्छ । यस्ता कुरामा ध्यान दिन म सबैलाई आग्रह गर्छु । ’
ठुलिभेरी नगरपालिकाका नगरप्रमुख श्वबर्ण कुमार बुढाले पालिकाबाट पठाएका योजनाहरु प्रदेशमा प्राथमिकता नपर्ने भएकाले त्यसलाई ध्यान दिनुपर्ने बताउनुभयो । हामी सबै जनताकै काम गर्ने भनेर आएका छौँ , त्यसैले सबैको न्याय हुने गरि काम गर्न मेरो सल्लाह रहेको छ, उहाँले भन्नुभयो । बजेट कनिका छराई भन्दा पनि ठोस देखिने गरि काम गर्न आफ्नो सुझाव रहेको शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले सुझाव दिनुभयो । उहाँले धेरै योजना बनाएर काम नदेखिनु भन्दा थोरै काम गरेर धेरै परिणाम आउने काममा लाग्न अनुरोध गर्नुभयो ।
अधिकांश सहभागीले व्यक्तिको आवश्यकता भन्दा पनि सामुहिक समस्यमा बजेटको प्राथमिकता हुनुपर्ने सुझाव रहेको छ । नागरिक समाजका प्रतिनिधिहरुलाई समेत उक्त छलफलमा सहभागी गराएको थियो । अन्य केही महत्वपूर्ण सल्लाह भएमा इमेलमा पठाउन आग्रह गरिएको मन्त्री शाहीले जानकारी दिनुभयो । दोस्रो चरणमा १० जिल्लाका प्रदेशसभाका सदस्यहरुसँग छलफल गरेर बजेट निर्माणको काममा आफू लाग्ने योजना रहेको मन्त्री शाहीले बताउनसभयो ।
प्रदेश सरकार नीति, कार्यक्रम र बजेट निर्माणतर्फ केन्द्रित भइसकेको भन्दै मन्त्री शाहीले सबै मन्त्रालयले ‘बजेट सिलिङ’ पाइसकेकोले धमाधम बजेट निर्माण र योजना तर्जुमामा जुटेको बताउनुभयो । मन्त्री शाहीले विगतका वर्षहरुमा बजेट निर्माणका क्रममा भएका कमजोरी, योजना तर्जुमाको प्रक्रियालाई सुधार गर्दै कर्णाली सुहाउँदो नयाँ बजेट ल्याइने दाबी गर्नुभयोे । बजेट कर्णाली सुहाउँदो ल्याइने छ, ‘हाइपोथेटिकल’ आउँदैन,’ उहाँ भन्नुहुन्छ, बजेट विगतका वर्षहरुभन्दा भिन्न तरिकाले आउनेछ । यस्तै, बजेट चालु आर्थिक वर्षकै हाराहारीमा आउने अनुमान उहाँको छ । केन्द्रबाट आउने अनुदानको विषय अहिले नै फाइनल नभएकाले आगामी वर्षका लागि चालु आर्थिक वर्षको भन्दा पनि कम गरी बजेट सिलिङ वितरण गरिएको छ ।
चालु आर्थिक वर्षका लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार बजेट ल्याइएको थियो । आगामी आर्थिक वर्षका लागि पनि ३०–३३ अर्ब कै बिचमा बजेट आउने मन्त्री शाहीले बताउनुभयो । कर्णाली प्रदेश सरकारसँग आफ्नो आयस्रोत छैन । सङ्घीयतामा पनि कर्णाली सरकार पूर्ण रुपमा केन्द्रको अनुदानकै भरमा चल्नुपर्ने बाध्यता छ । अर्को चालु आर्थिक वर्षको बजेट कार्यान्वयमा वृद्धि भएको खण्डमा बजेट आकार केही घट्ने देखिन्छ । तर चालु आर्थिक बर्षको बजेट कार्यान्वयको अवस्था विगतका वर्षभन्दा कमजोर छ।
उहाँका अनुसार नयाँ बजेटको प्राथमिकतामा कर्णालीमा रहेका आधारभूत क्षेत्रहरु जस्तैः वन, पर्यटन, कृषि, पशुपालन लगायतका कुरालाई समृद्ध गरेर उत्पादनको मात्रालाई बढाउने र तिनीहरुको ‘क्वालिटी’ बढाउनेदेखि बजार व्यवस्थापनको कुराहरु पर्नेछन् । अनुदानमै ल्याइने गरेको बजेट खर्च नगरेको भन्दै गुनासो बढेको छ । कतिपय योजनाहरु भनेको भन्दा कम बस्तुवादी हुने हुँदा पनि यस्तो समस्या आएको उहाँको भनाइ छ । यी दुईवटै कुरालाई हल गर्ने गरी नयाँ बजेट निर्माण गरिने शाहीको दाबी छ । आन्तरिक राजश्व वृद्धि गर्ने कुरामा नयाँ तरिकाले सोच्नुपर्नेमा उहाँको जोड रहेको छ ।
यो जनसमुदायसँग जोडिने विषय हो । जनसमुदायको आम्दानी वृद्धि भए स्वतः राज्यको ढुकुटीमा करको रुपमा सम्पत्ति बढ्छ भन्दै मन्त्री शाहीले अहिलेकै अवस्थामा फ्रेस बजेट बनाउने अवस्था नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विगत ६ वर्षदेखि योजनाहरूमा लगानी भइसकेको छ, तिनलाई अलपत्र छाडेर नयाँ ल्याउने कुरा हुन्न । तर पुरानै योजनालाई छिटो सक्ने कुरामा हाम्रो ध्यान गएको छ । आगामी आर्थिक वर्षका लागि सबैजसो मन्त्रालयको बजेट आकार घटेको छ । बजेट सिलिङ दिँदा सबै मन्त्रालयमा चालु आर्थिक बर्षको भन्दा घटाएर नै दिइएको हो ।







