पत्रकारसँग मुख्यमन्त्री कँडेलका कुरा ः ‘मर्निङ वाक’कै क्रममा अनुगमन गर्नेदेखि विकास निर्माणको हुटहुटीसम्म

सुर्खेत  / कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफू केही गर्छु भनेर सरकारको नेतृत्वमा आएको र त्यो कुरामा सचेत रहेको बताएका छन् । कर्णाली बदल्ने कुरामा आफूप्रति सबैको आशा र अपेक्षा रहेको बताउँदै कँडेलले त्यो अपेक्षालाई पूरा गर्ने प्रतिबद्धता जनाए ।

मुख्यमन्त्री भएको ठिक दुई महिनापछि मंगलबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री कँडेलले आफ्नो आगामी रणनीति, नीतिगत सुधार र व्यक्तित्वमा सुधारका योजना सुनाए ।

आगामी नीति तथा कार्यक्रमका लागि सुझाव माग्न पत्रकार सम्मेलन गरिए पनि पत्रकारहरूले सुझावभन्दा बढी प्रश्न राखे । मुख्यमन्त्री कँडेलले ती प्रश्नको सक्दो जवाफ दिए ।

उनले सुरुमै आफूलाई विगतकै सरकारको उत्तराधिकारी भएको र विगतको सरकारले ल्याएका योजनाहरूलाई मूर्तरुप दिन ध्यान दिइने बताए ।

‘हिजोदेखिका कतिपय योजनाले अझै गति लिन सकिरहेका छैनन्, तिनलाई गति दिने कुरामा अग्रसर हुनैपर्ने छ,’ उनले भने, ‘मुख्यमन्त्री भएपछि जे गरे पनि हुन्छ भन्ने बाटोमा म छैन । मलाई केही गर्नु छ । संरचना, जनशक्तिको हालत निकै गम्भीर छ । यसलाई पनि विश्वस्त बनाइ अघि बढ्नुपर्ने छ ।’

कँडेलले सबैको राय सल्लाह अनुसार नै अघि बढ्ने बताए । योजना छनोट गर्ने तरिका बदल्ने उनको दाबी छ । उनले भने, ‘मैले मूल ढोकाबाटै योजना ल्याउन भनिरहेको छु, तर मान्छेहरू झ्यालबाट छिर्ने कोसिस गरिरहेका छन् । त्यसलाई निरुत्साहित गरिने छ ।’

उनले योजना माग्न मन्त्रालय नै आउन नपर्ने बताए । अहिलेकै अवस्थामा फ्रेस बजेट बनाउने अवस्था नरहेको जिकिर गर्दै उनले अगाडि भने, ‘किनकि विगत ६ वर्षदेखि योजनाहरूमा लगानी भइसकेको छ, तिनलाई अलपत्र छाडेर नयाँ ल्याउने कुरा हुन्न । तर पुरानै योजनालाई छिटो सक्ने कुरामा मेरो ध्यान गएको छ ।’

कानुनमन्त्री समेत रहेका कँडेलले आफूले चार वटा विषयलाई प्रमुखताका साथ उठाएको उल्लेख गरे । सुर्खेत–हुम्ला र सुर्खेत–डोल्पा सडक र कालिकोट–मुगुको नाग्चेनाग्ला सडकलाई राष्ट्रिय गौरवको योजना घोषणा गरी अलग्गै संरचना बनाइदिन आफूले केन्द्र सरकारलाई अनुरोध गरेको उनले बताए । यी योजनाहरू केन्द्र सरकारको मातहतमा छन् ।

कोहलपुर–सुर्खेत सडकलाई फोरलेन सडकमा विकास गर्नुपर्ने कुरा पनि आफूले उठाएको मुख्यमन्त्री कँडेलले बताए । साथै सुर्खेत विमानस्थलको विषयमा प्रदेश सरकार तयार रहेको र केन्द्र सरकारले बनाइदिनुपर्ने उनको भनाइ छ ।

सरकारलाई पूर्णता नदिएको विषयमा उनले जवाफ दिएनन् । तर राज्यमन्त्री बनाइएको विषयमा प्रस्ट पार्दै उनले भने, ‘राज्यमन्त्री सहित ९ जना देखिए पनि मन्त्रीहरू ८ वटै कायम हुन्छ ।’

बजेट खर्च बढाउने विषयमा आफ्नो ध्यान प्रमुखताका साथ गएको पनि मुख्यमन्त्री कँडेलले बताए । उनले भने, ‘खर्चको मात्रा बढेको खण्डमा नयाँ वर्षमा बजेटको आकार घट्छ ।’

नीति निर्माण गर्दा केही विगतका कुरालाई समेटेर लैजानुपर्ने भएकाले कपी–पेस्टसमेत गर्नुपर्ने र नयाँ रणनीतिका साथ अघि बढ्ने कुरामा आफ्नो ध्यान गएको उनले बताए ।

सल्लाहकारको खोजी

मुख्यमन्त्री कँडेलले अहिलेसम्म सचिवालय टिम बनाउन सकिरहेका छैनन् । तर, केही व्यक्तिलाई भने नियुक्त गरिएको छ । सचिवालय गठनको विषयमा उनले भने, ‘धेरै रोजगारी सिर्जनाका लागि गर्ने कि नगर्ने भन्ने दुबिधामा छु । यो सल्लाहकार, ऊ सल्लाहकार गर्ने कि नगर्ने भन्ने छलफलमा छु । रोजगारका लागिमात्र गर्ने हो भने पर्याप्त मान्छे छन् । तर, सरकार सञ्चालन गर्नका लागि चाहिने मान्छे खोजेर हिँडिरहेको छु ।’

रोजगारका लागि मात्रै नभई सरकार र आफूलाई समेत नयाँ विचार, नयाँ योजना दिने गरी अघि बढ्न सक्ने मान्छेको खोजी गरिरहेको उनले बताए । करिब एक घण्टा पत्रकारसँग छलफल गरेका कँडेलले सबैको सुझाव ग्रहण गरिने बताए ।

साथै उनले आफ्नो कतिपय व्यवहार पनि सुधार गरेको र बाहिर प्रचार अर्कै तरिकाले भएकोप्रति गुनासो व्यक्त गरे । ‘म सहज मान्छे हो तर कतिपय मान्छेहरू परैबाट यो मान्छे अप्ठ्यारो छ भनेर प्रचार भइरहेको छ,’ उनले भने, ‘एकचोटी सबैलाई भन्छु, मलाई प्रयोग गरी हेर्नुस् । मसँग दन्ते कथाहरू छैनन् । म सबैलाई योजना बाँड्ने तरिकाले अघि बढेको छैन ।’

उनले पत्रकारहरूसँग पनि केही गुनासो राखे । कर्णालीबाट रिपोर्टरले पठाएको कुराहरूलाई केन्द्रमा रहेकाहरूले राष्ट्रिय राजनीतिको पात्र बनाइ शीर्षक राख्ने र समाचार थप्ने काम गरिरहेको बताउँदै उनले कर्णाली बनाउने कुरामा पत्रकार साथीहरूले पनि सकारात्मक तरिकाले सहयोग गर्नुपर्ने बताए ।

बरु टेलिफोन गरेर बस्तुगत अवस्था बुझेर समाचार पस्किन उनले अनुरोध गरे । त्यसका लागि टेलिफोन आफैँ उठाउने र फोन उठाउनकै लागि अर्को मान्छे राख्न आवश्यक नरहेको उनले बताए ।

उनले अब बिहान दैनिक डेढ घण्टा अनुगमन गरिने बताए । ‘त्यो बिहानको समय हुने छ, मर्निङ वाक पनि हुने, दौडिने पनि, अनि अनुगमन पनि,’ उनले अगाडि थपे, ‘पत्रकार साथीहरू पनि आउन सक्ने भए आउनुहोस् ।’





error: Content is protected !!