स्वास्थ्यमन्त्री यादव र स्वास्थ्य राज्यमन्त्री खानद्वारा शपथ ग्रहण

काठमाडौँ, ३१ वैशाख ः नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ । जनता समाजवादी पार्टी (जसपा) का सांसद यादवले नेपालको संविधानको धारा, ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।आजै राष्ट्रपति पौडेलेको समुपस्थितिमा प्रधानमन्त्रीसमक्ष नवनियुक्त स्वास्थ्य राज्यमन्त्री हसिना खानले पनि नेपालको संविधानको धारा, ८० बमोजिम राज्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवनमा आयोजित शपथ ग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहाललगायत विशिष्ट महानुभावहरुको उपस्थिति रहेको थियो ।
प्रधानमन्त्रीको सिफारिसमा जसपाका सांसद प्रदीप यादवलाई मन्त्री र हसिना खानलाई राज्यमन्त्री पदमा नियुक्त गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कार्यभार तोकिएको छ । विसं २०७९ पुस ११ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा, ७६ को उपधारा (९) बमोजिम यादव र खानलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोकिएको हो ।










