हराउन थाले पहाडी ट्रक

कालीकोट, वैशाख २३ गते ः हिमाल तथा पहाडमा ढुवानीको भरलाग्दो साधनका रूपमा परिचित खच्चड बिस्तारै हराउन थालेका छन् । सामान ढुवानी गर्ने हिमाली ट्रकको उपनाम पाएका खच्चड सडक यातायात पुगेसँगै हराउन थालेका हुन् । अहिले कालीकोटका कुनै पनि ठाउँमा खच्चड देखिँदैनन् ।

रास्कोट–२ का उदयराम चौलागाईंले केही वर्षपहिले गाउँमा सडक नहुँदा नौ वटा खच्चड किनेर सामान ढुवानी थाल्नुभयो । गाउँमा सडक थिएन । कर्णाली कोरिडोरको जितेबाट रास्कोट, पलाँता क्षेत्रमा सडक विस्तार नहुँदा चौलागाईंले किनेका नौ खच्चडले व्यापारीको सामान मात्र होइन, निर्माण सामग्रीसमेत बोक्ने गरेका थिए ।

पछिल्लो समयमा सडक पुगेसंगै खच्चडले काम पाउन छोडेपछि चौलागाईंले सबै खच्चड बिक्री गरिसकेको बताउनुभयो । गाउँमा सडक पुगेपछि सबै सामान व्यापारी र निर्माणकर्ताले गाडीमार्फत ढुवानी गराउन थालेपछि ‘हिमाली ट्रक’ ले बजार पाउन छोडेको उहाँले बताउनुभयो ।

चौलागाइ जस्तै रास्कोट–२ का तुलाराज योगी, बर्गराज सिम्खडा, गज्जबहादुर बमले पनि खच्चड व्यवसाय छाडिसक्नुभएको छ । अहिले भने खच्चडको सट्टा कसैले ट्रक किनेर ढुवानीकै काम गरिरहनुभएको छ भने कसैले खुद्रा व्यापार र कसैले फर्निचर व्यवसाय गरिरहनुभएको छ ।

रास्कोट–१ का गज्जबहादुर बमले खच्चड व्यवसायलाई छाडेर पनि आफ्नो व्यवसाय परिवर्तन गरेको बताउनुभयो । बमले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो, “म त मलेसिया बसेर आएको थिएँ, अलि अलि पैसा थियो, साथीहरूले हिमाली ट्रक (खच्चड) मा लगानी लगाउनु पर्छ भनेर लगानी पनि लगाइयो । कसैले खच्चड गोठालो भन्थे, कसैले हिमाली ट्रकको मालिक भन्थे ।”गोरखापत्र





error: Content is protected !!