कर्णाली कोरिडोर भएर पहिलो पटक सिमकोट पुग्यो जिप

हुम्ला, १७ वैशाख ः सिमकोट गाउँपालिकाले पहिलो पटक कर्णाली कोरिडोर भएर बोलेरो जिप सिमकोटमा ल्याएको छ। कोरिडोरको हुम्ला खण्डमा पर्ने छारेको असजिलो चट्टानी भीरमा नेपाली सेनाले सडक निर्माण कार्य पुरा गरेपछि जिप मङ्गलबार सिमकोट ल्याएको हो।

गाडी चालक जोर बोहराले सुर्खेतबाट कर्णाली कोरिडोर हुँदै गाउँपालिका केन्द्र सिमकोटमा गाडी आइपुगेको जानकारी दिनुभयो। एक वर्ष अगाडि गाउँपालिकाले खरिद गरेको गाडी नेपालगञ्जमा चालकसहित रोकिएको थियो। केही समय अगाडी नेपालगन्जबाट सुर्खेत लगिएको थियो।

उहाँले छारेमा सडक निर्माण गरिरहेको सेनाले सडकको ट्रयाक खोल्ने कार्य पुरा गरेपछि गाउँपालिकाले स्थानीय प्रशासनमार्फत सहयोगको आग्रहमा जिप सिमकोट ल्याउन सफल भएको बताउनुभयो।

विकास निर्माणको काममा प्रयोग हुने एक्स्काभेटर, टिप्पर र ट्याक्टर ल्याए पनि जिप भने सेनाले छोडेको थिएन।

एक वर्ष अगाडि १५ लाख ढुवानी तिर्ने गरी नेपाली सेनाको हेलिकोप्टरबाट ल्याउन खोजिएको भएपनि त्यो प्रयास भने सफल भएको थिएन। ढिलै भए पनि सिमकोट गाउँपालिकाले गाडी भित्र्याएको छ।

मङ्गलबार गाडी सिमकोट पुगेसँगै चालक र गाडीसँग आउनु भएका वडा नम्बर ४ का अध्यक्ष प्रताप लामालाई स्वागत गरिएको थियो। गाडीलाई पूजापाठ समेत गरिएको थियो।




सम्बन्धित समाचार


error: Content is protected !!