एमाले कैलालीको मतदान अनिश्चितकालका लागि स्थगित

धनगढी, १० फागुन । अधिवेशन सुरु भएको पाँच दिनसम्म पनि नेतृत्वको लागि रस्साकस्सी चलिरहेको नेकपा एमाले कैलालीको अधिवेशनमा मतदान अनिश्चितकालका लागि स्थगित गरिएको छ।

अधिवेशन सुरु भएको पाँचौं दिन बिहीबार दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म नेतृत्व चयनका लागि मतदान हुने तय गरिएको थियोमा साढे ५ बजे निर्वाचन कमिटीले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि मतदान स्थगित गरिएको जनाएको हो।

अधिवेशनका प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले अर्को सूचना जारी नभएसम्ममा लागि निर्वाचन कार्यक्रम स्थगित गरिएको सूचनामा जारी गरेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन ६ गते आइतबार अधिवेशनको उद्घाटन गरेका थिए। उद्घाटन समारोहमा बोल्दै उनले सहमति नभए भोलिपल्टै निर्वाचन प्रक्रिया थाल्न निर्देशन दिएको भए पनि कैलालीमा पाँचौं दिन समेत मतदान हुन सकेको छैन।

एमाले केन्द्रीय सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्ण थापा र एमाले सुदूरपश्चिम कमिटि निवर्तमान अध्यक्ष दामोदर भण्डारीको चरम गुटबन्दीका कारण अधिवेशन अनिर्णयको बन्दी बनेको प्रतिनिधिको आरोप छ।

नेतृत्वका लागि कैलालीमा हालका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्व सचिवालय सदस्य यज्ञराज ढुंगाना प्यानल सहित प्रतिस्पर्धामा उत्रिएका छन्।





error: Content is protected !!