सस्तोमा विदेश कल गर्न मिल्ने टेलिकमको एक्सेस कोड १४२४ बन्द, अब के गर्ने ?

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले सस्तो दरमा विदेश कल गर्न मिल्ने एक्सेस कोड १४२४ बन्द गरेको छ । कम्पनीले यसअघि प्रचलनमा रहेको अन्तर्राष्ट्रिय एक्सेस कोड बन्द गर्दै अन्य विकल्प प्रयोग गर्न आग्रह गरेको छ ।
कम्पनीका प्रवक्ता हरि ढकालका अनुसार दुई दिन अघि मात्र १४२४ एक्सेस कोड बन्द गरिएको थियो । ग्राहकलाई उक्त एक्सेस कोड प्रयोग गरी कल गर्ने क्रममा नै यसबारे जानकारी दिने गरिएको छ ।
हाललाई अस्थायी रूपमा १४२४ एक्सेस कोड बन्द गरिएको छ, प्रवक्ता ढकालले भने, ग्राहकले त्यसको साटो १२२५, १४४५ वा ०० प्रयोग गर्न सक्नु हुन्छ ।
भारतमा कलको पल्स रेट (कल गर्ने क्रममा बिलिङका लागि गणना हुने न्यूनतम अवधि) बढेका कारण १४२४ बन्द गरिएको उनको भनाइ छ । टेलिकमको नम्बरबाट विदेशमा कल गर्ने क्रममा यस्ता एक्सेस कोड प्रयोग गर्दा सस्तो पर्न जान्छ । अन्तर्राष्ट्रिय एक्सेस कोड प्रयोग गर्दा कुन देशका लागि टेलिफोन शुल्क कति लाग्छ भन्ने विषयमा विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।










