पूर्व विद्यार्थीले निर्माण गरिदिए सरस्वतीको मन्दिर

जाजरकोट ः यहाँका पूर्व विद्यार्थीहरुले भेरी नगरपालिका १३ कुदुस्थित भगवती माविमा सरस्वतीको मन्दिर निर्माण गरि हस्तान्तरण गरेका छन ।

तुलाराम गिरीको संयोजकत्वमा गठन भएको पूर्व विद्यार्थी मन्चले आफुले बाल्यकालमा अक्षरारम्भ गरि शिक्षा हासिल गरेको विद्यालयको प्राङ्गणमा ७ लाख बढिको लागतमा मन्दिर निर्माण गरि सरस्वती पुजाको अवसरमा विद्यालयलाई हस्तान्तरण गरेको हो ।

९० जना पूर्व विद्यार्थीहरुको आर्थिक सहयोगमा ७ लाख १४ हजार ४९० रुपैयाँ खर्च गरेर मन्दिर निर्माण गरि सरस्वती पुजाकै दिन विद्यालयलाई हस्तान्तरण गरिएको पूर्व विद्यार्थी एवम् मन्चका संयोजक गिरीले बताए ।

गिरीका अनुसार राजनीतिक दलका प्रतिनिधिसहित भेरी नगरपालिकाकी कार्यपालिका सदस्य कालिका खत्रीको रोहवरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेश बटाला र प्रधानाध्यापक प्रताप रोकायलाई मन्दिर हस्तान्तरण गरिएको छ ।

मन्दिर निर्माणका लागि संघ, प्रदेश र स्थानीय सरकारलाई पटकपटक आग्रह गरिएको भएपनि कसैले वास्ता नगर्दा आफुहरुले व्यक्तिगत रुपमा आर्थिक संकलन गरेर मन्दिर निर्माण गरिदिएको संयोजक गिरीको भनाई छ ।

मन्दिर निर्माण गरि आवश्यक रंगरोगन र बत्ति समेत जडान गरि हस्तान्तरण गरिएको पूर्व विद्यार्थी मन्चका सहसंयोजक भोला खत्रीले बताए ।

स्वतस्फूर्त रुपमा मन्दिर निर्माण गरि हस्तान्तरण गरिएको भन्दै पूर्व विद्यार्थीहरुलाई विद्यालयले धन्यवाद दिएको छ ।





error: Content is protected !!