३२ हजार भूकम्प पीडित अझै त्रिपालमै

जाजरकोट ः रामीडाडाँ केन्द्र विन्दु भएर गएको भूकम्पबाट प्रभावित मध्य हाल सम्म २७ हजार ९१ जनाले अस्थायी आवासका लागि पहिलो किस्ताको रकम पाएका छन् । ४२ हजार ५२४ पीडित मध्य २७ हजार ९१ पीडितले मात्र पहिलो किस्ताको रकम पाएको जिल्ला प्रशासन कार्यालय निकालेको विज्ञप्तिमा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माका अनुसार भेरी नगरपालिकाका जम्मा पीडित ६ हजार ६३४ मध्य ४ हजार ६४२ ले पहिलो किस्ताको रकम पाएका छन् । नलगाड नगरपालिकाका जम्मा ८ हजार ९७ जना पीडित मध्य ७ हजार १५० जनाले पहिलो किस्ता रकम प्राप्त गरेको जानकारी गराएको छ । छेडागाडमा ८ हजार २०५ मध्य २ हजार १८८ जनाले मात्र रकम पाएको उल्लेख गरिएको छ ।
बारेकोटमा ५ हजार ५८६ मध्य ४ हजार ६८७ जनाले पहिलो किस्ता पाएका छन् । कुशे गाउँपालिकाका ५ हजार २८७ परिबार मध्य ४ हजार १५४ परिबारले पहिलो किस्ताको रकम पाएका छन् । त्यस्तै जुनिचाँदे गाउँपालिकामा ५ हजार ४०६ मध्य १ हजार ११३ परिबारलाई पहिलो किस्ता उपलब्ध गराएको छ । शिवालय गाउँपालिकामा ३ हजार ३०९ जना मध्य ३ हजार १४७ परिबारलाई पहिलो किस्ता उपलब्ध गराएको जानकारी दिइएको छ ।
४२ हजार ५२४ पीडित मध्य हाल सम्मा २७ हजार ९१ परिवारले रकम बुझेको प्रशासनको विज्ञप्तिमा जनाएको छ । १० हजार १५९ परिबार मात्र अहिले सम्म अस्थायी टहरा निर्माण गरेर बसीरहेको समेत उल्लेख गरिएको छ । हाल सम्मा ३२ हजार ३६५ परिबार अझैँ त्रिपालमा बसीरहेका छन् । जम्मा भूकम्प पीडितको संख्या ४२ हजार ५२४ रहेको छ । हाल सम्म जुनिचाँदे गाउँपालिकामा कुनै पनि अस्थायी आवास निर्माण नगरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।








