‘मानवतामा दाग लागेको’ गाजा युद्धको १०० दिन


प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय निकायका प्रमुख फिलिप लाजारिनीले गाजा पट्टीको भ्रमणका क्रममा जारी गरेको वक्तव्यमा भनिएको छ, “विगत १०० दिनको व्यापक मृत्यु, विनाश, विस्थापन, भोकमरी, क्षति र शोकले हाम्रो साझा मानवतामा दाग लागेको छ ।”
लाजारिनीले अक्टोबर ७ मा हमास र अन्य समूहले गरेको ‘भयानक आक्रमण’को निन्दा गरेका छन्, जसमा एक हजार १४० जनाको मृत्यु भएको थियो ।
थप २५० जनालाई बन्धक बनाइएको र तीमध्ये १३२ जना गाजामै रहेको र २५ जनाको मृत्यु भएको अनुमान गरिएको इजरायली अधिकारीहरूले बताएका छन् ।
“बन्धक र उनीहरूका परिवारका लागि १०० दिनको समय निराशा र चिन्ताबीच बितेको छ,” लाजारिनीले भन्नुभयो ।
इजरायलले गत अक्टोबर ७ देखि गाजामा आक्रमण गर्दा कम्तीमा २३ हजार ८४३ जनाको मृत्यु भएको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
लाजारिनीका अनुसार बालबालिकाको एउटा सिंगो पुस्ता ‘आघातमा परेको’ छ र निको हुन वर्षौं लाग्नेछ ।
उहाँले भन्नुभयो, “ बालबालिकालगायत अन्य मानिसहरू अमानवीय अवस्थामा बाँचिरहेका छन्, रोगहरू फैलिरहेका छन् ।”
“तिनीहरू बाँच्न नसक्ने ठाउँमा बाँचिरहेका छन् र समय अनिकालतिर लम्किरहेको छ ।”










