साल्ट ट्रेडिङको सल्यान शाखामा म्याद गुज्रिएको ८०० बोरा मल

सल्यान ः सल्यानको शितलपाटीमा रहेको साल्ट ट्रेडिङ कर्पोरसन लिमिटेड शाखाको डिपोमा म्याद गुज्रिएको मल फेला परेको छ।
शुक्रबार कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले डिपोमा अनुगमन गर्दा म्याद गु्रजिएको ८०० बोरा ‘खेती शक्ति’ नामक मल फेला परेको हो ।
नेपाल सरकारले अनुदान नदिएको र प्रदेश सरकारले पनि उक्त मलको सिफारिस नगरेको तथा साल्ट ट्रेडिङले अर्को कम्पनीको मल बिक्री गर्दा त्यसलाई स्वत अवैध मानिन्छ। म्याद गु्रजिएको मललाई तत्काल त्यसलाई नष्ट गर्ने प्रक्रिया पूरा गरी व्यवस्थापन गर्न मन्त्री शर्माले निर्देशन दिए। मल किसान र सहकारीहरूलाई लिन बाध्य पारिएको गुनासो आएपछि उक्त मल फिर्ता गर्न र अब वितरण नगर्न निर्देशन दिए।
डिपोले मल छैन भन्दै कृषकलाई बिक्री नगरेको र बिग्रेको मल दिने गरेको गुनासो प्राप्त पछि मन्त्री शर्माले अनुगमन गर्दा अहिले साल्ट ट्रेडिङ कर्पोरेसनको डीएपी ४ हजार बोरा बढी र युरिया ३५ सय बोरा बढी मल रहेको भेटिएको छ ।
‘अहिले सिजनका बेला कृषक मलका लागि भौँतारिएको फाइदा उठाउँदै डिपोले राम्रो मल भन्दा पहिला बिग्रेको मल जो सिमेन्ट जस्तै सट भएको छ त्यही नै बिक्री गर्ने गरेको रहेछ’, मन्त्री शर्माले भने, ‘त्यो लगायत बिक्रीवितरण भइसकेको मल समेत फिर्ता ल्याएर नष्ट गर्न निर्देशन गरिएको छ।’










