जग्गाप्राप्तिका लागि निस्सा वितरण प्रक्रिया सुरु

रुकुम पश्चिम ः  रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएका लाभग्राहीले निस्सा प्राप्त गरेका छन् ।
पालिकामा रहेका एक सय सात भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसाबास गर्दै आएका लाभग्राहीले निस्सा प्राप्त गरेका हुन् । जिल्लाको त्रिवेणी गाउँपालिकाबाट भूमिहीन लाभग्राहीलाई निस्सा वितरण गर्न सुरु गरिएको हो । आइतबार लाभग्राहीलाई गाउँपालिकाको कार्यालयमा बोलाएर २३ भूमिहीन दलित, दुई सकुम्बासी र ८२ अव्यवस्थित लाभग्राहीले जग्गाप्राप्तिका लागि निस्सा प्राप्त गरेको राष्ट्रिय भूमि आयोग रुकुमपश्चिमका विज्ञ सदस्य सुशील विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार भूमिहीन दलित, सुुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्दै आएका व्यक्तिका लागि निस्सा प्राप्त गर्नु भनेको जग्गाप्राप्तिका लागि पहिलो आधार हो । अब उनीहरुका लागि जग्गाप्राप्तिको प्रक्रिया सुरु हुने उहाँले बताउनुभयो ।
“भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थितरुपमा बसोबास गर्दै आउनुभएका व्यक्तिले जग्गा पाउँ भनेर निवेदन पेस गर्नुभएको थियो, सोही निवेदनका आधारमा उहाँहरुलाई जग्गाप्राप्तिका लागि निस्सा वितरण गरेका छौँ, अब दोस्रो चरणमा उहाँहरुले दाबी गरेको जग्गा नापजाँच गछौँ र तेस्रो चरणमा सबै प्रक्रिया पुगेकालाई पुर्जा वितरण गर्छौं”, उहाँले भन्नुभयो ।
जग्गाप्राप्तिका लागि दाबी विरोधको सूचनामा लाभग्राहीको नाम निश्चित भएर आउनुपर्ने हुन्छ । दाबी विरोधमा लाभग्राहीको नाम निश्चित नभएमा भने जग्गा प्राप्त गर्न नसक्ने विज्ञ सदस्य विष्टले जानकारी दिनुभयो । दाबी विरोधका लागि केही दिनभित्र सूचना प्रकाशन गरिने बताइएको छ ।
अव्यवस्थित बसोबास गर्दै आएका लाभग्राहीले जग्गा पाउने निश्चित भएमा सात हजार वर्गमिटरसम्म जग्गा प्राप्त गर्न सक्नेछन् । भूमिहीन दलित तथा सुकुम्बासीले आवासका लागि तीन सय वर्गमिटर र कृषिका लागि एक हजार वर्गमिटर जग्गा प्राप्त गर्ने राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष मीनबहादुर ओलीले जानकारी दिनुभयो ।
अध्यक्ष ओलीकाअनुसार छनोटमा परेका लाभग्राहीलाई भोगचलन गर्दै आएको जग्गा उपयुक्त भएमा सोही ठाउँकै जग्गा दिने र त्यहाँ उपयुक्त नभएमा भूमि आयोग तथा स्थानीय सरकारको निर्णयअनुसार उपयुक्त ठाउँ खोजेर जग्गा प्रदान गरिने जनाइएको छ । भूमिहीन दलित तथा सुकुम्बासी हाल भाडाको घर तथा अर्काको घरमा बस्दै आएका छन् ।
जिल्लामा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएका एक हजार आठ सयभन्दा बढी लाभग्राहीले जग्गाका लागि निवेदन दिएको बताइएको छ । त्रिवेणी गाउँपालिकाबाट सुरु भएको निस्सा वितरण कार्यक्रम जिल्लाका छ वटै स्थानीय तहमा सञ्चालन गरिने राष्ट्रिय भूमि आयोगले जनाएको छ ।




error: Content is protected !!