३४ औं राष्ट्रिय भलिवल प्रतियोगिताको उद्घाटन सत्रमा कर्णालीका मुख्यमन्त्री किन भएनन सहभागी ?

सुर्खेत ः कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आज देखि ३४ औं राष्ट्रिय भलिवल प्रतियोगिताको उद्घाटन सत्रमा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा लगाएत माओवादीबाट कर्णाली प्रदेश सरकारमा सहभागी कुनै पनि मन्त्री सहभागी भएका छैनन् । प्रतियोगिताको उदघाटन उपप्रधानमन्त्री एवम रक्षा मन्त्री पूर्णबहादुर खड्काले गरेका थिए । उक्त कार्यक्रमा कांग्रेसबाट कर्णाली प्रदेशमा सहभागी मन्त्री भने सहभागी रहेका थिए ।
प्रमूख प्रतिपक्षी दल नेकपा एमालेका नेता यामलाल कंडेल, नेपाली काँग्रेसबाट सरकारमा सहभागि सामाजिक विकास मन्त्री खड्क पोखरेल, आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंह र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री कृष्णबहादुर बिसि उदघाटन सत्रमा सहभागि भएका थिए ।
देशभरिकै खेलाडीहरु सुर्खेतमा जम्मा भइरहेको समयमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मा सँगै सरकारमा माओवादी केन्द्रबाट सहभागि भएका कुनैपनि मन्त्रीहरु उपस्थित नहुँदा राजनीतिक बृतमा अन्यौठो रुपमा लिइएको छ ।
माओवादीबाट सरकारमा सहभागि मुख्यमन्त्री तथा मन्त्रीहरु कार्यक्रममा सहभागि नभएपछि उपप्रधानमन्त्री खड्कालाई भने कतै माओवादीले आफू सहभागि कार्यक्रम बहिष्कार गरेका हुन कि भन्ने पर्न गएको काँग्रेसको बुझाइ रहेको छ । यता, मुख्यमन्त्री राजकुमार शर्मा काठमाडौंमा छन भने आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसी कार्यक्रम सञ्चालन भइरहेको समयमा काठमाडौंबाट सुर्खेत आइपुगेका थिए ।
यस्तै, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मंगल शाही सुर्खेतमै थिए भने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्मा वीरेन्द्रनगरमै आयोजित च्याउ खेतिसम्वन्धी एक कार्यक्रममा सहभागि भएका थिए । यस्तै, उर्जा मन्त्री उर्मिला विश्वकर्मा पनि सुर्खेतमै भएकी भएपनि उनिसमेत कार्यक्रममा उपस्थित भइनन् ।
बहुप्रतिक्षित प्रतियोगितामा माओवादीका तर्फबाट सरकारमा सहभागि तपाईहरुबाट कोहीपनि सहभागि नहुनुको अर्थ बहिष्कार गर्नु भएको हो ? भन्ने प्रश्नमा सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानून मन्त्री जिसिले भने, ‘हामीले सबै मन्त्रीहरु एकै कार्यक्रममा नजाने भन्ने आचारसंहिता बनाएका छौं, सोही अनुसार विभागिय मन्त्री ज्यू कार्यक्रममा सहभागि हुनु भएको हो । उनले भने, सरकार भनेको सरकार नै हो, त्यहाँ माओवादी र काँग्रेस भन्ने नै हुन्छ र ?
उनले प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न सरकार निरन्तर लागिपरेको बताउँदै माओवादी निकटका मन्त्रीहरु सहभागि नभएको वा बहिष्कार गरेको भन्ने अर्थमा बुझ्न गलत हुने तर्क गरे । मुख्यमन्त्री शर्मा काठमाडौँमा भनिएपनि सुर्खेतमै रहेको पाइएको छ । आज मात्र उहाँले जाजरकोट तथा रुकुमपश्चिमका भूकम्प पीडितहरुका लागि खाँडाचक्र नगरपालिका कालीकोटका नगरप्रमुख कलमबहादुर शाहीले उपलब्ध गराएको रु पाँच लाखको चेक बुझनुभएको थियो ।











