कर्णालीमा दक्ष जनशक्ति तयार पारिँदै

सुर्खेत, २१ मङ्सिर ः कर्णाली प्रदेशका चार जिल्लामा बृहत् अपाङ्गता स्वास्थ्य समस्या देखिएका नागरिकको सहज उपचारका लागि दक्ष जनशक्ति तयार पार्न लागिएको छ । कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र मुगुले कोर ग्रुपको सहयोगमा बृहत् अपाङ्गता स्वास्थ्य कार्यक्रममार्फत कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको समन्वय तथा जनस्वास्थ्य सेवा कार्यालयको सहजीकरणमा सो जनशक्ति तयार पार्न लागेको हो ।

बृहत् अपाङ्गता स्वास्थ्य कार्यक्रमका संयोजक अनिशा श्रेष्ठले अहिले यो कार्यक्रम मुगुसहित सुर्खेत र काठमाडौँमा लागु गरिएको बताउनुभयो । उहाँका अनुसार महिलालाई प्रजनन स्वास्थ्य सेवाका बारेमा जानकारी दिने, सेवाप्रदायक स्वास्थ्य संस्थाको व्यवहार, ज्ञान र सिपका साथ अपाङ्गता तथा पहुँचमैत्री स्वास्थ्य संरचना निर्माणलाई यो कार्यक्रमले प्राथमिकता दिएको छ । यस अनुसार सुर्खेतको नगर अस्पताल र वीरेन्द्रनगर–१ को धारापानी आधारभूत स्वास्थ्य संस्थालाई नमुनास्वरूप अपाङ्गता तथा पहुँचमैत्री संरचना निर्माण गर्न थालिएको छ । मुगु अस्पताल र मुगुकै छायाँनाथ रारा नगरपालिका–१२ को ढुङ्गेधारा स्वास्थ्य चौकीलाई पनि पहुँचमैत्री बनाउन लागिएको छ ।

बृहत् अपाङ्गताका कारण स्वास्थ्य संस्थामा आउँदा दिइने सेवा, सिप र गर्ने व्यवहार सिकाएर उनीहरूलाई आआफ्ना कार्यक्षेत्रमा बृहत् अपाङ्गता स्वास्थ्य उपचार गर्न सहज होस् भनेर प्रशिक्षण दिइएको कार्यक्रम संयोजक श्रेष्ठले बताउनुभयो । प्रशिक्षणपछि उनीहरूले आफ्नो क्षेत्रमा गएर दक्ष सेवा प्रदान गर्ने विश्वास गरिएको छ । संस्थाले केही दिनमै महिला प्रजनन स्वास्थ्य शिविर गर्दै छ । अपाङ्गता भएका व्यक्तिका लागि एप्स र बेवसाइट पनि ल्याउने तयारी गरिएको छ । त्यसका लागि तीनदिने अपाङ्गता व्यवस्थापन तथा संवेदनशीलता तालिम सञ्चालन गरिएको छ ।

तालिममा सुर्खेत, मुगु, जाजरकोट र रुकुमपश्चिमका स्वास्थ्यकर्मीको सहभागिता छ । पहिलो दिनको तालिममा अपाङ्गतामैत्री संरचना, स्वास्थ्य सेवा प्रदायकको भूमिका, स्वास्थ्य नीतिमा अपाङ्गता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अपाङ्गता नीतिका बारेमा प्रशिक्षण दिइएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशक डा. रविन खड्काले तालिमपश्चात् अपाङ्गताको उपचारमा स्वास्थ्यकर्मीको व्यवहार परिवर्तन र उपचार शैलीमा सुधार आउने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले कर्णालीमा अपाङ्गता हुने क्रम पनि वृद्धि भइरहेको भन्दै यो तालिमले उपचारमा सहयोग पुग्ने बताउनुभयो । तालिममा स्वास्थ्य र अपाङ्गताको वर्गीकरण, जन्मजात ओठ फाटेका, ढाडमा फोका, पैताला मोडिएको, जन्मजात पाखुरा नचल्ने, जन्मजात हातखुट्टा नचल्ने, बालमस्तिस्क पक्षाघात, घाँटी बाङ्गिनु जस्ता समस्याका बारेमा सहजीकरण गरिएको थियो ।

तालिममा संस्थाका कार्यकारी निर्देशक अजबहादुर शाही, प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. शक्ति सुवेदी, प्रदेश अस्पतालका फिजियोथेरापिस्ट डा. उमाशङ्कर, क्षमता अभिवृद्धि अधिकृत डा. जितेन्द्रकुमार सिंह, रुकुमपश्चिम अस्पतालका फिजियोथेरापिस्ट डा. अस्मिता श्रेष्ठ, प्रदेश अस्पतालका नर्सिङ प्रमुख शकुन्तला सापकोटासहित राष्ट्रिय अपाङ्ग महासङ्घका प्रदेश अध्यक्ष विष्णुप्रसाद शर्मा, प्रदेश व्यवस्थापक आनन्दबहादुर विष्टले विभिन्न विषय र सवालका क्षेत्रमा सहजीकरण गर्नुभएको थियो । स्रोत ः गोरखापत्र





error: Content is protected !!