धानखेती घटेसँगै बढ्यो खाद्य परनिर्भरता

पाँचथर, ८ मङ्सिर ः धान रोप्नेक्रम घट्दै जाँदा यहाँका उब्जनी हुने खेत बाँझो हुन थालेका छन् । पहाडका फाँटमा यतिबेला धान काट्न र थन्क्याउन कृषकलाई भ्याइनभ्याइ छ । असारदेखि भदौ पहिलो सातासम्म रोपिने धान कात्तिकदेखि मङ्सिर दोस्रो साताभित्र पाकिसक्ने हुनाले यहाँका कृषक धान थन्क्याउने काममा व्यस्त छन् । तर विगतमा जस्तो सिँचाइको सुविधा भएका सबै खेतमा धान फलाउने क्रमभने घट्दै गएको छ । आकर्षक उब्जनी हुने बेंसीमासमेत धानखेती घट्दै गएको छ ।

यहाँका निबु खोला, खुङ खोला, हेंवा खोला, नाँवा खोला, सुभाङ खोला, इवा खोलाको सिँचाइ हुने फाँटमा धेरै धान उत्पादन हुने गर्दछ । प्रशस्तै धान उत्पादन हुँदा कतिपय कृषकले आफ्नै उत्पादनले वर्षदिन खान पु¥याउने गर्दथे तर अहिले सो अवस्था क्रमशः घट्दै गएको छ । फिदिम नगरपालिका वडा नं १०, ११ र १२ का बासिन्दाले खेती गर्ने खुङ खोला क्षेत्रका आकर्षक खेत क्रमशः बाँझो हुँदै गएका छन् ।

फिदिम–१० का टेकबहादुर हाङसरुम्बाले भन्नुभयो, “पहिले धान रोपिने ठाउँ जङ्गल भइसक्यो । मसिनो धान फल्ने ठाउँ जङ्गलले छिर्न नसकिने भयो । यहाँ काहीँ पनि हरियो जङ्गल थिएन ।” हाङसरुम्बाका अनुसार जङ्गल बढ्दै जाँदा बाँदरका कारण भएका खेतमा पनि स्थानीयवासीले खेती लगाउन सकेका छैनन् । गाउँमा युवा नहुँदा पशुपालन पनि घटेको छ । जसको असर पनि धान खेतीमा परेको छ । “अहिले गोरु पाल्ने निकै कम मात्रै छौँ । अर्काको गोरु ल्याएर जोताउँदा धेरै खर्च हुने गर्छ”, हाङसरुम्बाले भन्नुभयो, “अहिले रोजगारी बढ्दै जाँदा खेतीमा काम लगाउने मान्छे भेटिँदैन । सिँचाइको पनि समस्या नै छ ।”

फिदिम–१० कै भुवन जबेगु पनि हाङरुम्बाकै कुरामा सहमत जनाउँदै भन्नुहुन्छ, “हाम्रो खुङ खोलाको फाँट जिल्लाको सबैभन्दा उत्पादनशील ठाउँ हो । यहाँ निकै उब्जाउ हुने जमिन भएकाले तीन बालीसम्म खेती हुन्थ्यो”, उहाँले भन्नुभयो, “तर अहिले पहिलेको तुलनामा धान उत्पादन घटेको छ । एसएलसी पास गरेपछि युवामा विदेश जानुपर्छ भन्ने मानसिकता बढेको छ । जसकारण बालनाली लगाउन सहयोग पु¥याउने युवाको सङ्ख्या घटेको छ । अहिले फाट्टफुट्टबाहेक एकै याममा मात्रै खेती हुने गरेको र खेत क्रमशः बाँझिदै गएको र परम्परागत खेतीपातीमा युवाको आकर्षण पटक्कै नहुँदा धानखेती घट्दै गएको हो ।”

हिलिहाङका वीरेन्द्र मङ्ग्रातीले धानखेती घट्नुमा युवाको विदेश पलायन, बसाइँसराइ, सिँचाइको अभाव र धानखेतीमा प्रविधिको उपयोग हुन नसक्नु मुख्य कारण रहेको बताउनुहभयो । “धानखेतीमा प्रविधिको उपयोग र राज्यको लगानी छैन । हिउँदे धानखेतीमा त राज्यको लगानी शून्य छ”, उहाँले भन्नुभयो, “मानिस क्रमशः प्रविधिमैत्री बन्दै जाँदा धानखेती परम्परागतरुपमै गर्नुपर्ने बाध्यता छ ।” सरकारले धानखेती बढाउन बसाइँसराइ रोकथाम, सिँचाइ र प्रविधिमा थप लगानी गर्नुपर्ने मङ्ग्रातीको सुझाव थियो ।

“धानखेती घट्दै जाँदा खाद्य परनिर्भरता बढेको र यसले समाजलाई पनि गरीब बनाउँदै लगेको छ । अहिले गाउँघरमा हुने सबै आम्दानी चामल खरिदमा खर्च हुन थालेको छ । विगतमा निकै कम घर परिवारले मात्रै चामल खरिद गर्दथे”, उहाँले भन्नुभयो, यसैगरी मकै कोदोलगायत खाद्य बालीको उत्पादन र प्रयोग पनि घटेको छ । खाद्यान्नमा कोदो र मकै प्रयोग हुन्थ्यो । अहिले त्यसको सट्टामा पनि चामल प्रयोग गर्नाले चामलको खपत अत्यधिक बढेको छ । यसले समाजलाई गरिब बनाउँदै लगेको छ । ”

कृषि ज्ञानकेन्द्रको तथ्याङ्कले पनि जिल्लामा धानखेती घट्दै गएको देखाउँछ । गत वर्ष जिल्लामा आठ हजार नौ सय २६ हेक्टर जमिनमा धानखेती भएको थियो । यस वर्ष धान खेती हुने क्षेत्र गत वर्षभन्दा दुई सय ७६ हेक्टर कम भएको छ । ग्रामीण अर्थतन्त्रलाई सबल बनाउने बलियो माध्यम धानखेती भए पनि यस विषयमा स्थानीय सरकारले स्पष्ट नीति र कार्यक्रम तय गर्नसमेत सकेको छैन । रासस





error: Content is protected !!