छायानाथमा नगरबस सञ्चालन

मुगु /   जिल्लाको एक मात्र नगरपालिका छायानाथ रारा नगरपालिकाले दुई वटा नगरबस सञ्चालनमा ल्याएको छ ।  छायानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले नगरपालिकाभित्रका जनतालाई सार्वजनिक यातायातमा सहज पहुँच पु¥याउन   नगर बस सञ्चालनमा ल्याएको बताउनुभयो ।
भौगोलिक रूपमा बिकट रहेको मुगु जिल्लामा यातायातको भरपर्दो साधन नहुँदा जनतालाई नगरपालिका केन्द्रित औषधि उपचार, सरकारी तथा गैरसरकारी कामकाजका साथै आवश्यकीय  मालसामान  किनमेलका लागि  घण्टौँ हिँड्नुपर्ने  बाध्यता छ । यही कुरालाई मध्यनजर गर्दै जनताको आवश्यकता र मागअनुसार  सुलभ भाडादरमा दुई वटा नगरबस सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो ।
अहिले दुई वटा नगरबस नगरपालिकाले सञ्चालन गरे पनि नगरभित्रका धेरैजसो वडामा सडक साँघुरो र अव्यवस्थित भएकाले आगामी वर्षमा व्यवस्थित सडक बनाई सबै वडावासीलाई समेट्ने गरी थप दुई नगरबस थपेर चार बस सञ्चालन गरिनेछ ।
  नगरबस सञ्चालन कार्यविधिअनुसार बसमा यात्रा गर्ने ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र गर्भवतीलाई बस भाडामा छुटको व्यवस्था गरेको पनि प्रमुख प्रशासकीय अधिकृत पशुपति शाहीले जानकारी गराउनुभयो ।
नगरले सञ्चालनमा ल्याएका दुई बसमध्ये एउटा बस नगरपालिकाको गमगढी, रुगा, लुम हुँदै बामसम्मका रुटमा चल्नेछ । अर्को बस गमगढी हुँदै रारा विमानस्थल, टोप्ला, पिना र राराको सल्लेरीसम्म चल्नेछ । गमगढी बजारबाट राराको सल्लेरीसम्म नगर बस सुलभ भाडादरमा चल्ने भएपछि राराको आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा मिल्ने नगरउपप्रमुख ऐश्वर्य मल्लले बताउनुभयो ।
नगरपालिकाले नगर बैठकबाट नगर बसको विभिन्न बस्तीसम्मको भाडादर  कायम गरिएको छ । जसअनुसार गमगढीबाट बामसम्म  रु तीन सय, तुम गाउँ ३० रारा विमानस्थलसम्म रु एक सय ५०, रारा सल्लेरी रु दुई सय ५०, पिना रु तीन सय, बालै रु एक सय, कोटिला रु दुई सय रहेको छ । यसैगरी फुलीसम्म रु दुई सय सहुलियत भाडादर कायम गरिएको उपप्रमुख मल्लले बताउनुभयो ।
जिल्ला सदरमुकाम गमगढीबाट आफ्ना गाउँबस्तीसम्म नगरबस चल्ने भएपछि स्थानीयवासी खुसी भएका छन् । छायानाथ रारा नगरपालिका–१३ लुमका स्थानीय बास्मती रावत सस्तो भाडादरमा बस चलेकोमा खुसी हुँदै दुई दिन तामझामभन्दा दीर्घकालीन रुपमा जनताले सेवा पाउने गरी सुरक्षित सडक बनाई नगरपालिकाले नियमित सेवा दिनुपर्ने बताउनुहुन्छ । यसअघि गाउँमा उत्पादन हुने फलफूल, अन्नबाली, तरकारी गमगढी बजारमा बिक्री गर्न  बोकेर ३ घण्टा हिँड्नुपथ्र्यो अथवा निजी जीपलाइ रु एक हजार दुई सय तिर्नुपथ्र्यो ।
यसरी भाडा तिर्दा बिक्रीबाट आम्दानीभन्दा भाडा चर्को हुन्थ्यो । बाम गाउँका अर्का स्थानीय गाउँका धामी चन्द्रबहादुर बढुवाल गाउँमा बस चलेकाले  गाउँलेले राम्रो आम्दानी गर्ने भएका छन् ।
दुवै नगरबसमा अतिथिलाइ चढाएर बाम गाउँमा पुगी नगरबस सञ्चालनको उद्घाटन गरिएको थियो । सांसद ऐनबहादुर शाहीले बाम गाउँमा पुगेका नगरबसलाई पूजा र व्यानर वाचन गरेर उद्घाटन गर्नुभएको थियो । ३० सिट क्षमताका दुई वटा नगरबसको खरिद मूल्य रु ८२ लाख परेको नगरपालिकाले जनाएको छ ।




error: Content is protected !!