उत्तर कोरियाले नेपालमा दूतावास बन्द गर्ने
काठमाडौँ ः उत्तर कोरियाले नेपालमा आफ्नो दूतावास बन्द गर्ने भएको छ । सन् २०१८ बाट संयुक्त राष्ट्रसंघको आर्थिक नाकाबन्दी खेपिरहेको उत्तर कोरियाले आर्थिक अभावको कारण नेपालबाट दूतावास हटाउन लागेको स्रोतले बतायो ।
नेपालबाट दूतावास हटाउने सम्बन्धमा दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्दै जानकारी गराएको हो । साथै सोमबार उत्तर कोरियाका राजदूत जो योङ मानले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि भेटेका थिए । उक्त अवसरमा पनि उनले प्रधानमन्त्रीलाई जानकारी दिएका थिए । अहिले उत्तर कोरियाको दूतावास ललितपुरको झम्सिखेलमा छ ।
आर्थिक संकटलाई टार्नको लागि उत्तर कोरियालीहरूले काठमाडौं उपत्यकाका केही स्थानमा रेस्टुरेन्ट व्यवसाय थालेका थिए तर राष्ट्र संघको नाकबन्दीको कारण नेपाल सरकारले उनीहरुको गतिविधिमा कडाई गर्दै आइरहेको थियो । उत्तर कोरियाले लामो समयदेखि अणविक हतियार बनाएपछि आर्थिक नाकाबन्दी लगाइएको हो ।
नेपाल र उत्तर कोरियाबिच सन् १९७४ मे १५ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसपछि दुई मुलुकबिचमा सन् १९७० मा आएर द्विपक्षीय व्यापार सम्झौता भएको हो ।
नेपालको बेइजिङमा रहेको दूतावासले नै उत्तर कोरियालाई हेर्ने गरे पनि उत्तर कोरियाले भने नेपालमा दूतावास राख्दै आएको हो । अब भने बन्द गर्ने भएको छ ।