मुगु सामूहिक हत्या प्रकरण ः एक जना प्रहरी नियन्त्रणमा
मुगु , १३ कात्तिक ः मुगुस्थित छायाँनाथ रारा नगरपालिका– ६ मन्दु गाउँमा सामूहिक हत्या भएको चार दिनपछि प्रहरिले एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो अन्दाजी १२ बजेको समयमा जिल्ला सदरमुकाम गमगढीस्थित बिच बजार (नगरपालिका जाने बाटो) बाट प्रहरीले शंकास्पत ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।
प्रहरिले नियन्त्रणमा लिएका ती व्यक्तिबारे विस्तृत सूचना भने गोप्य राखेको छ । हत्या अनुशन्धानका लागि ११ गते नै जुम्ला, कोहलपुर र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट विशेष अनुसन्धान टोली मुगु पुगेर अनुसन्धान गरिरहेको थियो । आइतबार बिहान हत्यारा नजिक प्रहरी पुगिसकेको प्रहरी नायब उपरिक्षक विरेन्द्र थापाले बताएका थिए ।प्रनाउ थापाले भने, ‘शंकास्पत र अनुसन्धानले नजिक पुर्याएको एक जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको साँचो हो, एकिन र विस्तृत घटनाबारे थप अनुसन्धानपछि सबै कुरा सार्वजनिक गरिने छ ।’
यसै बिच कर्णाली प्रदेश प्रहरी प्रमुख भीम ढकाल आइतबार मुगु पुगेका छन् । अनुसन्धानमा भएका प्रगति बुझ्न र अनुसन्धानलाई थप सहयोग गर्न ढकाल मुगु पुगेका हुन् । प्रदेश प्रहरी प्रमुख ढकाललाई प्रनाउ विरेन्द्र थापाले घटनास्थलको स्थलगत भ्रमणमा सघाइरहेका छन् ।
कर्णाली प्रदेश, जुम्ला र कोहलपुरबाट कुकुरसहितको प्रहरीको अनुसन्धान टोली यसअघि नै मुगु पुगेको थियो । यो टोलीले शनिबारदेखि अनुसन्धानको काम जारी राखेको छ । शुक्रबार मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो ।