सामूहिक हत्या भएका चारैजनाको सव सदरमुकाममा , आजै पोष्टमार्टन गरिने

सुर्खेत , १२ कात्तिक ः तीन सन्तानसहित आमाको हत्या विषयका शनिबार बिहानदेखि अनुसन्धानमा खटिएको प्रहरी टोलीले शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम गमगढी पुर्याएको छ ।

मुगुका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले घटना भएको स्थान छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँबाट शव उठाएर सदरमुकाम ल्याइसकिएको जानकारी दिए । आज नै सवको पोष्टमार्टम गरिने उनले जानकारी दिए । मन्दु गाउँ जिल्ला सदरमुकामदेखि ३ घण्टा टाढा रहेको छ ।

शुक्रबार मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो । उनीहरुको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको अहिलेसम्मको प्रारम्भिक अनुसन्धानबाट अनुमान गरिएको छ ।

मृतक आमा श्रीदेवी छोराछोरीसहित ७ गते नै दसैंको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएकी थिइन् । माइतीबाट टिका, जमरा लगाइसकेपछि उनी ८ गते बेलुका नै घर फर्किएकी थिइन् । सोही राति सामूहिक हत्या गरिएको बताइएको छ ।

छाँयानाथ रारा नगरपालिका–६, का वडाध्यक्ष खेमबहादुर रावलका अनुसार श्रीदेवीका श्रीमान दीपक घर आइसकेपछि शव उठाइएको हो । कतारमा रहेका दीपक घटना घटेपछि शुक्रबार साँझनै कतारबाट हिँडेका थिए । उनी काठमाडौँबाट नेपालगंज विमानस्थल र त्यहाँबाट जहाजमै शनिबार बिहान ११ बजे गाउँमा घरमा पुगेका थिए ।

घटना ८ गते साँझ नै घटेपनि प्रहरीलाई भने शुक्रबार बिहान ११ बजे मात्रै खबर भएको थियो । बिहीबार बिहानैदेखि घर बाहिर ताला लगाएको देखेका थिए । शुक्रबार बिहान पनि ताल्चा लगाइएको देखेपछि स्थानीयले सोधिखोजी गरेका थिए । माइतीबाट पनि फर्किसकेको बताइसकेपछि स्थानीयले ताला फोडेका थिए ।

घरभित्र चारैजना मृत अवस्थामा भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो । शनिबार बिहान कोहलपुरबाट कुकुरसहितको अनुसन्धान टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ भने प्रदेश प्रहरी कार्यालयको अनुसन्धान विशेष टोली पनि अनुसन्धानमा सक्रिय छ ।





error: Content is protected !!