विद्युत् आयोजनाहरु निर्माण र संचालनले देशको समृद्धिमा टेवा पुग्छ ः ऊर्जामन्त्री बस्नेत
काठमाडौँ ः ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले अब विद्युत् आयोजनाहरू निर्माण र सञ्चालनबाट देशको आर्थिक विकासमा टेवा पुग्ने बताएका छन् । उनले विद्युत् आयोजना र मुलुकको समृद्धिलाई जोड्ने गरी सरकारले कानुनी व्यवस्था गर्न लागेको बताए ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा विद्युत् विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्दै मन्त्री बस्नेतले नेपालमा विद्युत् आयोजनाको विकास र सञ्चालनलाई व्यवस्थित गर्न तथा अब मुलुकको आर्थिक समृद्धिमा योगदान पुर्याउन सरकारले यो विधेयक अघि सारेको बताए ।
‘यो विधेयकले ऐनको रूप धारण गरिसकेपछि समग्र आर्थिक विकासमा योगदान गर्न सक्ने र प्रत्यक्षरुपमा आर्थिक समृद्धिमा योगदान पुर्याउँछ भन्ने विश्वास लिएको छु,’ उनले भने, ‘हामीले अब कानुनी व्यवस्थाहरूलाई विकास र समृद्धिसँग समेत जोडेर अगाडि बढ्नुपर्ने अवस्था रहेको छ ।’
उनले ठूला आयोजनाहरू संघमा, २५ मेघावाटसम्मका आयोजनाहरू प्रदेश र ५ मेघावाटसम्मका आयोजनाहरू स्थानीय तहमार्फत सञ्चालन हुने व्यवस्था विधेयकमा गरेको बताए । उनले विधेयकमा विद्युत् आयोजनाको विकास तथा सञ्चालन प्रतिस्पर्धाका आधारमा गर्ने गरी व्यवस्था गरिएको बताए ।