दुई चरणमा इजरायल गएका थिए ४९ विद्यार्थी
काठमाडौं ः एक महिनाअघि सुदूरपश्चिम विश्वविद्यालयको टीकापुरस्थित कृषि क्याम्पसका विद्यार्थी ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पठाउने तयारी हुँदा कृषि संकायका तत्कालीन डिन लालप्रसाद अम्गाईं निकै खुसी थिए ।
अस्ति विद्यार्थी पठाउँदा आफू पनि उत्साही थिएँ,’ उनले भने, ‘अहिले यस्तो खबर सुन्दा म आफैं सम्हालिन सकिरहेको छैन, मेरै विद्यार्थी यस्तो घटनामा परे ।’ अम्गाईंको पदावधि सकिएर उनी अहिले विश्वविद्यालय अनुदान आयोगको निर्देशक भएका छन् ।
साढे ४ बजे इजरायली राजदूतले हाम्रो ग्रुपमा विद्यार्थीमाथि आक्रमण भएको म्यासेज गरेपछि थाहा पाएका हौं,’ कृषि संकायका विभागीय प्रमुख सुशील न्यौपानेले भने, ‘त्यसपछि हामीले विद्यार्थीको अवस्था बुझ्न थाल्यौं, परराष्ट्र मन्त्रालय र इजरायलस्थित नेपाली दूतावासबाट पनि जानकारी लियौं ।’ ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत गएका दाङका विपिन सुवेदीका बुबा बुद्धिप्रसादले बिहान सात बजेतिर छोराले आक्रमण भएको जानकारी गराएको बताए । ‘त्यसपछि सम्पर्क नहुँदा ऊ निकै चिन्ता लाग्यो । दिउसो चार बजेपछि मात्रै सम्पर्कमा आएपछि केही राहत भयो,’ उनले भने ।
टिम लिडरका रूपमा गएका विपिनले घाइतेहरूको अवस्था कस्तो छ भन्नेसम्म पनि जानकारी पाउन नसकेको बताए । ‘आक्रमणमा परी घाइते भएका र अपहरणमा परेका सबै सुदूरपश्चिम विश्वविद्यालयकै विद्यार्थी हुन्,’ उनले भने । उनका अनुसार शनिबार बिहानैदेखि कृषि फार्म आसपास बम पड्किरहेको थियो । साढे ९ बजे एक्कासि विद्यार्थीहरूले ‘हामी घाइते भयौं, उद्धार गर्नुपर्यो’ भनेर खबर पठाएका थिए । दुई बजेसम्म पनि उद्धार गर्न नसकेको विपिनले बताए । ‘अहिले पनि घाइते भएका र अपहरणमा परेकाहरूको अवस्था कस्तो छ, जानकारी छैन,’ उनले भने । विभागीय प्रमुख न्यौपानेले अहिले पनि विद्यार्थीलाई बंकरमै राखिएको भन्ने जानकारी आएको बताए ।
सुदूरपश्चिम विश्वविद्यालयले भदौ अन्तिम साता कृषि संकायको आठौं सेमेस्टरका ४९ विद्यार्थीलाई दुई चरणमा इजरायल पठाएको थियो । नेपालस्थित इजरायली दूतावासको सहजीकरणमा सेडट नेगेभ कलेजसँगको सम्झौताअनुसार विद्यार्थी इजरायल गएका हुन् ।