जाजरकोटमा एकै योजनाबाट डबल रकम भुक्तानी , पूर्वाधार विकास कार्यालयबाट लिएको १३ लाख फिर्ता
जाजरकोट / एउटै सडक देखाएर दुइ ठाउँबाट भुक्तानी लिने उपभोक्ता समितिले रकम फिर्ता गरेको पाइएको छ । भौतिक पूर्वाधार विकास कार्यालय भन्दा नलगाड नगरपालिकाबाट अगाडी भुक्तानी लिइएको पाइएपछि भौतिक पूर्वाधार विकास कार्यालयको रकम फिर्ता गरेको कार्यालय प्रमुख स्वहिन्दर यादवले बताउनुभयो । उक्त सडकका डिपिआर समेत नगरपालिकाले गरेको थियो । गत आर्थिक बर्ष २०७९÷०८० मा राजनीतिक प्रभाव र आर्थिक लेनदेन गरी उखाले–तल्लु सडकमा एकै सडकको दुई कार्यालयबाट दोहोरो भुक्तानी दिइएको कुरा संचारमाध्यामबाट सार्वजनिक भएपछि दोहरो भुक्तानी लिएको रकम उपभोक्ताले फिर्ता गरेका हो । पुर्वाधार विकास कार्यालय जाजरकोटबाट लिएको भुक्तानी रु १२ लाख ८२ हजार ७ सय २२ रुपैया फिर्ता भएको हो ।
जाजरकोट नलगाड नगरपालिका वडा नं. ११ मा पर्ने एउटा सडक निर्माण गरि एउटै उपभोक्ता समितिले दुई कार्यालयबाट भुक्तानी लिएको केही दिन अघि सार्वजनिक भएको थियो । नलगाड नगर पालिकाबाट १९ लाख ४० हजार र सोही योजनामा भौतिक पूर्बाधार विकास कार्यालय जाजरकोटबाट १३ लाख ४२ हजार १ सय सात रुपैयाँ भुक्तानी दिइएको थियो । नलगाड नगरपालिका र पूर्वाधार विकास कार्यालय जाजरकोटसंग उपभोक्ता समितिको तर्फबाट अध्यक्ष प्रेम बहादुर सिंह, सचिव प्रेम बहादुर मल्ल र कोषाध्यक्ष विष्णु कुमारी मल्लले सम्झौता गरेका थिए । यही उपभोक्ता समितिको खातामा दुवै कार्यालयबाट गत असारमै ३२ लाख बढी रकम भुक्तानी भैसकेको थियो । नलगाड नगरपालिकाको काम अघि नै गरिसकेको छानवीनबाट पुष्टि भएपछि पुर्वाधार विकास कार्यालयबाट डुप्लिकेशन भएको तथ्य पत्ता लागेको थियो । बढी भुक्तानी लिएको ५ प्रतिशत धरौटी बाहेक १२ लाख ८२ हजार ७ सय २२ रुपैया उपभोक्ता समितिले मंगलवार पुर्वाधार कार्यालयको खातामा रकम जम्मा गरेको पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख यादवले बताउनुभयो ।
गत असारमा नलगाड नगरपालिका वडा नं. ११ स्थित उखाले तल्लु हितानगाँउ जोड्ने सडक निर्माण कार्यमा नलगाड नगरपालिका र पूर्वाधार विकास कार्यालय जाजरकोट दुई वटा कार्यालयबाट भुक्तानी लिएको सार्वजनिक भएको थियोे । अफिसलाई झुक्याएर डुप्लिकेशन गरी रकम भुक्तानी लिने उपभोक्तालाई बोलाएर रकम जम्मा गर्न अन्यथा कानुनी कारवाही गर्ने चेतावनी दिएपछि भुक्तानी लिईसकेको रकम फिर्ता गर्न लगाएको यादवले बताउनुभयो । ति उपभोक्ता समितिलाई अन्य के कारवाही गर्ने बारे प्रमुख जिल्ला अधिकारी सँग परामर्श भैरहेको उहाँले बताउनुभयो ।
एउटै सडकमा दोहोरो भुक्तानी भएको सम्बन्धमा के भएको हो सत्य तथ्य पत्ता लगाउन दुवै कार्यालयका प्राविधिक, वडाध्यक्ष सहितले स्थलगत अध्ययन गर्दा उपभोक्ताले डुप्लिकेशन गरेको र वडाध्यक्ष लालबहादुर बानियालाई समेत झुक्याएको ठहर भएको थियो । गत असारमा मात्र भौतिक पूर्वाधार विकास कार्यालयमा २८ वटा नयाँ योजना आएका थिए । उक्त आयोजना कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयसँग सहकार्य नगरी उक्त रकम जाजरकोट पठाएको थियो । दल निकट व्यक्तिको प्रभावमा परि जथाभावी उपभोक्ता समितिको नाम समेत टिक्याएर रकम पठाउदा उक्त समस्य उत्पन्न भएको थियो ।
वन मासेर जथाभावी खनिएका सडकको अनुसन्धान हुँदै
डिभिजन वन कार्यालय ,जाजरकोटले वन मासेर असारमा जथाभावी निर्माण गरिएका २८ वटा सडकको अनुसन्धान गरिरहेको छ ।
सातै पालिकामा रहेको डिभिजन वन कार्यालयलाई डिपिआर विना कुन निकायको अनुमतिमा वन भित्र सडक निर्माण गरिएको भन्दै क्षतीको विवरण संकलनको काम भइरहेको डिभिजन वन कार्यालय जाजरकोटका डिभिजन प्रमुख राधाकृष्ण दासले बताउनुभयो ।
वन क्षेत्र भित्र सडक निर्माण गर्दा डिपिआर निर्माण गरि क्षतीको विवरण निर्माण गर्नुपर्ने हुन्छ । तर असारमा पठाएका सडकहरु कुनै निकायसँग अनुमति नलिइ जथाभावी निर्माण गरिएपछि समस्य निम्तिएको छ । प्रहरी प्रशासनकै आडमा केही सडकहरु निर्माण गरिएको थियो । असारमा निर्माण गरिएका ति सडकहरुमा पहिरो गएका कारण अहिले नाम निसान नै नरहेको अवस्थामा रहेको छ । नाम निसान नै नभएका सडकको रकम भने भुक्तानी भइसकेको छ । कत्तै सडकमा गएको पहिरोले बस्ती नै जोखिममा परेको छ । कत्तै ज्यानमारा सडक भएको छ । नलगाड नगरपालिका –८ स्थित साप्नेखेत हल्चौर सडक निर्माण गर्दा अहिले त्यहाँ पहिरो गएर खाली खुट्टा हिडने बाटो समेत नभएको अवस्थामा रहेको छ ।
उत्ता आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले अब असारमा योजना पठाउने कुरा गलत भएको भन्दै त्यसलाई रोक्ने काम हुने बताउनुभयो । वजेटमा मितव्ययी तथा कार्यान्वमा चुस्त बनाएको उहाँको भनाई रहेको छ । यो आर्थिक वर्षमा असोज भित्र सम्झौता तथा ठेक्काका काम पुरा हुने बताउनुभयो । तर प्रमुख प्रतिपक्षी दलका नेता यामलाल कडेलले सरकारले भने अनुसारको काम नगरेको भन्दै मंगलबार प्रदेशसभाको बैठकमा आपती जनाएका छन् । सबै काम असोजमा गर्छु भन्ने सरकारले हामीसँग भएका सहमति किन भएन भन्दै आक्रोष पोख्नुभएको छ । उहाँले भन्नुभयो , ‘ टुक्रे योजना समायोजन गरि पठाउछु भन्ने सरकारले फेरी टुक्रे योजना जिल्लामा पठाएको बुझिएको छ । यो के तरिका हो ? के प्रतिपक्षको साथ नचाहिने हो त ? ’ असारका भएको क्षतीको कहिले जनताले राहत पाउछन त सरकार भन्दै कडेलले प्रश्न समेत गर्नुभएको थियो ।