कर्फ्यूका बीच नेपालगञ्जमा सेनाको सहयोग मागियो
बाँके ः बाँकेस्थित नेपालगञ्जको स्थिति नियन्त्रणबाहिर जान नदिन जिल्ला सुरक्षा समितिले नेपाली सेनाको सहयोग लिएको छ। कर्फ्यूका बीच पनि दुई समूहबीच झडप उत्पन्न भएपछि नेपाली सेनाको सहयोग मागिएको स्थानीय प्रशासनले जनाएको छ ।
शान्ति, सुरक्षाका लागि जिल्ला सुरक्षा समितिले आवश्यकता ठानेमा सेनाको सहयोग लिनसक्ने कानुनी व्यवस्था छ । सोही व्यवस्थामा टेकेर बाँकेका प्रजिअले सहयोग मागेपछि अहिले सेनाले गस्ती थालेको बताइएको छ।
त्यहाँ अहिले हिन्दू र मुस्लिम समुदायबीच विवाद बढेको छ। साम्प्रदायिक तनाव उत्पन्न हुन नदिन मंगलबार दिउँसो १ बजेबाट कर्फ्यू लगाइएको थियो। ठाउँठाउँमा समस्या उत्पन्न भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन दर्जनौँ सेल अश्रुग्याँस समेत प्रहार गरिसकेको छ। अहिले भने स्थिति सामान्य रहेको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
स्थानीय प्रशासनले छलफलको वातावरण निर्माण पनि गरिरहेको छ। विभिन्न समुदाय तथा सामाजिक सञ्जालमार्फत आपसी मेलमिलापका अनुरोधहरु आइरहेका छन्। उनीहरुले जातीय विवाद कसैको हितमा नहुने बताइरहेका छन्। तीन दिनअघि सामाजिक सञ्जालमा लेखेको विषयलाई लिएर त्यहाँ दुई समुदायबीच तनाव बढेको छ।