सुस्त साक्षरता अभियान

सुर्खेत ः नेपालमा साक्षरता अभियान सुरु भएको २७ वर्षपछि सुर्खेत जिल्ला साक्षर घोषणा गरिए पनि कर्णालीमा अझै केही जिल्ला साक्षर हुन सकेको छैन। कर्णाली प्रदेश सरकारले पाँच वर्षअघि साक्षर घोषणा अभियान थालेको थियो। आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा तीन वर्षभित्र कर्णाली प्रदेशलाई साक्षर घोषणा गर्ने अभियानसहित प्रदेश सरकारले दुई करोड रुपियाँ बजेट विनियोजन गरेको थियो। तथापि अभियान थालनी भएको पाँच वर्ष बित्दासमेत कर्णाली साक्षर हुन सकेको छैन।
बालबालिकालाई विद्यालय (ल्याऔँ, टिकाऔँ र सिकाऔँ) भन्ने नारासाथ अभियान सुरु गरिएको थियो। प्रदेश सरकारले साक्षर प्रदेश कार्यक्रमलाई आफ्नो नीति तथा कार्यक्रममा बर्सेनि समेट्दै आएको छ तर हालसम्म पनि कर्णालीका पाँच जिल्ला अझै साक्षर घोषणा भएका छैनन्। साबिक कर्णाली अञ्चलका मुगु, हुम्ला, जुम्ला, कालीकोट र डोल्पा हालसम्म पनि साक्षर घोषणा भएका छैनन्। प्रदेश सरकारले चालु आर्थिक वर्षमा पनि साक्षर अभियानलाई निरन्तरता दिएको छ। २०८०र८१ मा समेत कर्णाली प्रदेश सरकारले प्रदेश घोषणाको विषयलाई आफ्नो नीति तथा कार्यक्रममा समेटेको छ।
कर्णाली प्रदेशका १० मध्ये पाँच जिल्ला जाजरकोट, दैलेख, सुर्खेत, सल्यान र रुकुमपश्चिम साक्षर जिल्ला घोषणा भएका छन्। कर्णालीका जिल्लामध्ये सुर्खेत सबैभन्दा पहिले साक्षर घोषणा भएको जिल्ला हो। २०७२ जेठ १२ गते सुर्खेतलाई साक्षर घोषणा गरिएको हो।
२०४५ सालमा पहिलो पटक सुर्खेतबाट सघन साक्षरता कार्यक्रम सुरु भएको थियो। सो कार्यक्रम प्रभावकारी भएपछि तत्कालीन शिक्षा मन्त्रालयले आफ्नो कार्यक्रममा राखेर देशव्यापी रूपमा साक्षरता कक्षा सञ्चालन गरेको थियो। तीन दशकभन्दा बढी समय पहिले सुर्खेतको मैनतडाबाट सुरु भएको साक्षरता अभियानले लामो समयपछि पूर्णता पाएको थियो।
१५ देखि ६० वर्ष उमेरका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भइसकेपछि सुर्खेतलाई साक्षर घोषणा गरिएको थियो। सोपछि कर्णाली प्रदेशमा जाजरकोट, सल्यान, रुकुमपश्चिम र दैलेख जिल्ला साक्षर घोषणा भएका थिए।
शिक्षा विकास निर्देशनालय, सुर्खेतका निमित्त निर्देशक दीपा हमालले स्थानीय तहले पालिकालाई साक्षर घोषणा गर्ने तयारी गरिरहेको र प्रदेशबाट समेत समन्वयकारी भूमिका निर्वाह गरिरहेको जानकारी दिनुभयो। सङ्घीय सरकारले पालिकालाई साक्षर घोषणा गर्न कार्यक्रम तथा बजेटको व्यवस्था गरेको छ। राष्ट्रिय जनगणना, २०७८ का अनुसार कर्णाली प्रदेशको साक्षरता दर ७६.१ प्रतिशत छ। यहाँ महिलामा ६९.४ र पुरुषमा ७८.३ प्रतिशत साक्षरता दर रहेको जनगणनाले देखाएको छ।









