मैले बेपत्ता र योद्धालाई सम्मान गर्ने वातावरण बनाएँ ः प्रधानमन्त्री
गोरखा ः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरेश वाग्ले ‘वासु’लगायत हजारौँ शहिदको सपना पूरा गर्ने जिम्मेवारी काँधमा रहेको बताएका छन्।
सुरेश वाग्लेले अध्यापन गराएको जनता माध्यमिक विद्यालयमा आयोजित शहिद सुरेश वाग्ले (वासु) र भीमसेन पोख्रेलको २४औँ स्मृतिसभा तथा शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
सो क्रममा प्रधानमन्त्री प्रचण्डले जनयुद्धका शहिदहरूलाई स्मरण गर्दै माओवादीले उठाएका मुद्दा र जनताको चाहाना पूरा गर्न अझै बाँकी रहेको बताए।
प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री बनेपछि सरकारले जनयुद्ध र जनयुद्धका शहिद, बेपत्ता र योद्धालाई सम्मान गर्ने वातावरण बनाएको बताए। त्यसको सुरुवात जनयुद्ध र जनआन्दोलनका सम्पूर्ण शहिदहरूलाई राष्ट्रिय शहिदको घोषणा गरेर राजपत्रमा प्रकाशित गरी जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस घोषणा गरिएको बताए।
प्रधानमन्त्री प्रचण्डले अहिले सत्य निरुपण तथा बेपत्तासम्बन्धी विधेयक प्रक्रियामा रहेको बताउँदै पारित भएपछि देशैभर शहिद, बेपत्ता परिवारको सम्मान हुने बताए ।