सन् १९७४ मा आजकै दिन ः ‘वाटरगेट काण्ड’ मा निक्सनलाई माफी

काठमाडौँ — सन् १९७४ मा आजकै दिन (सेप्टेम्बर ८) मा अमेरिकी पूर्वराष्ट्रपति रिचार्ड निक्सनले ‘वाटरगेट काण्ड’ मा माफी पाएका थिए । वाटरगेट काण्ड’ का कारण झन्डै महाभियोग सामना गर्नुपर्ने भएपछि निक्सनले १९७४ अगस्ट ८ मा राष्ट्रपति पदबाट राजीनामा दिएका थिए । उनको राजीनामासँगै राष्ट्रपति बनेका उपराष्ट्रपति जेराल्ड फोर्डले आफ्नो संवैधानिक शक्ति प्रयोग गर्दै निक्सनलाई सजाय हुनबाट बचाएका थिए ।

सन् १९६९ मा अमेरिकाको राष्ट्रपति भएका निक्सनको पहिलो कार्यकाल सफल मानिन्छ । उक्त कार्यकालमा उनले सोभियत संघ, चीन तथा कतिपय अरब देशसँगको सम्बन्ध सुधार गरेका थिए । जसका कारण उनी जसरी पनि दोस्रो कार्यकाल राष्ट्रपति हुने दाउमा थिए । फलस्वरूप उनले १९७२ जुन १७ मा वासिङ्टन डीसीको वाटरगेट कम्प्लेक्समा रहेको डेमोक्रेटिक पार्टीको राष्ट्रिय समितिमा आफ्ना सुरक्षा संयोजकसहित पाँच जनालाई सुराकीका लागि खटाएका थिए ।

निक्सनले खटाएको टोलीले थुप्रै महत्त्वपूर्ण कागजातहरू चोरेका थिए । तर उनीहरू पक्राउ परेपछि घटना ढाकछोप गर्न निक्सनले राज्य संयन्त्रको चरम दुरुपयोग गरेका थिए । उक्त घटनाबारे वासिङ्टन पोस्टका पत्रकारहरू बब उडवार्ड र कार्ल बर्नस्टिनले समाचार प्रकाशन गरेपछि निक्सनको कर्तुत बाहिरियो । सर्वोच्च अदालतको आदेशअनुसार सुराकी गरेर खिचिएका टेप र कागजात बुझाउन बाध्य भएका निक्सन सिनेटको न्यायिक समिति र हाउस अफ रेप्रिजेन्टेटिभ्सले महाभियोगको प्रस्ताव अघि बढाएको खण्डमा बर्खास्त हुने भएपछि पदबाट राजीनामा दिएका थिए ।




सम्बन्धित समाचार


error: Content is protected !!