किम जोङ पुटिनसँग वार्ता गर्न रुस जान सक्ने ः रिपोर्ट

उत्तर कोरियाली नेता किम जोङ उन यसै महिना रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न जाँदैछन्। बाइडेन प्रशासनका एक अधिकारीले न्युज च्यानल सिबिएसलाई यो जानकारी दिएका हुन्।

दुई नेताको भेटमा उत्तर कोरियाले रुसलाई हतियार आपूर्ति गर्ने सम्भावनाबारे छलफल हुने अधिकारीले बताए। यी हतियार युक्रेन विरुद्ध प्रयोग गरिनेछ।

हाल रुसमा राष्ट्रपति पुटिन र किम जोङ उनबीचको यो बैठक कहाँ हुने भन्ने स्पष्ट छैन।

अन्य अमेरिकी सञ्चारमाध्यमहरूले पनि किम जोङ उनको प्रस्तावित रुस भ्रमणबारे समाचार प्रकाशित गरेका छन्।

न्यूयोर्क टाइम्सले स्रोतलाई उद्धृत गर्दै आफ्नो रिपोर्टमा किम जोङ उन आफ्नो रेलमा रुस जान सक्ने बताएको छ।

केही दिनअघि अमेरिकाले रुस र उत्तर कोरियाबीच हतियार आपूर्तिको विषयमा वार्ता तीव्र गतिमा अघि बढेको नयाँ जानकारी प्राप्त भएको बताएको थियो।

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले रुसी रक्षामन्त्री सर्गेई शोइगुले उत्तर कोरियाको हालैको भ्रमणका क्रममा रुसलाई गोलाबारुद आपूर्ति गर्न मनाउन खोजेको बताएका छन्।





error: Content is protected !!