कर्णालीमा एमाले अधिवेशन
सुर्खेत ः नेकपा (एमाले) को प्रदेश अधिवेशन नजिकिएसँगै कर्णालीमा नेता आन्तरिक छलफलमा व्यस्त देखिन्छन्। नेताले आफू निकट नेता, कार्यकर्तासँग छलफल चलाउन थालेका छन्। कर्णालीमा असोज १० र ११ गते प्रदेश अधिवेशन तोकिएको छ। राजधानी वीरेन्द्रनगरमा हुने अधिवेशनले निर्वाचनमार्फत नेतृत्व चुन्ने बताइएको छ।
अहिलेसम्म पोलिटब्युरो सदस्य सल्यानका गुलाबजंग शाह, दैलेखका लक्ष्मी पोखरेल, केन्द्रीय सदस्य कालिकोटका मीनबहादुर शाही, नगिन्द्र शाही, दैलेखका विष्णु रिजाल, राजबहादुर बुढा, जाजरकोटका नीरज आचार्य सुर्खेतका नवराज रावत, ध्रुव शाही, हुम्लाका दल रावललगायतका नेताको नाम चर्चामा छ। यस्तै कर्णालीका पूर्व सभामुख राजबहादुर शाहीले पनि अध्यक्षका लागि चाहना व्यक्त गर्नुभएको छ।
पार्टी केन्द्रले प्रदेश सभा सदस्य, प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यहरूले अध्यक्ष र सचिवका लागि उम्मेदवार बन्न रोक लगाएको छ। उक्त नीतिका कारण कतिपय आकाङ्क्षी नेताहरू उम्मेदवार बन्न पाउने छैनन्।
पार्टीले पोलिटब्युरो तहको नेतालाई प्राथमिकता दिइएको खण्डमा गुलाबजंग शाह अध्यक्षका प्रमुख दाबेदार देखिनुभएको छ। कार्यकारी भूमिका हुने हुँदा प्रदेशको अध्यक्षका लागि पार्टीका पोलिटब्युरो तहका नेताहरूले बढी आकाङ्क्षा देखाइरहनुभएको छ।
शाह एमाले महासचिव शङ्कर पोखरेल समूहका नेता हुनुहुन्छ। दैलेखका पोखरेल पनि उत्तिकै सम्भावना भएका नेता हुनुहुन्छ। ०७९ मङ्सिरमा भएको चुनावमा प्रतिनिधि सभामा एमाले शून्यमा छ भने प्रदेशमा तेस्रो दल छ।
युवा नेताबाट विष्णु रिजाल, नीरज आचार्य, दल रावलको नाम बढी चर्चामा छ। रिजाल राष्ट्रिय राजनीतिमा पनि उत्तिकै परिचित नाम हो। रावल यसअघि प्रदेशको सामाजिक विकास मन्त्री भइसकेका नेता हुनुहुन्छ।
यसअघि पार्टीले कर्णालीको प्रचारको जिम्मा आचार्य, स्कुल विभागको जिम्मा रिजाल र गुलाबजंगलाई जनसङ्गठन र रुकुम पश्चिम इन्चार्जको जिम्मेवारी दिइएको छ। उहाँ तिनै जना नेताहरू अध्यक्षका लागि बढी चर्चामा रहेका नेताहरू हुनुहुन्छ।
एमाले सुर्खेतका पूर्व अध्यक्ष ध्रुव शाही पनि अध्यक्षको लागि बलियो सम्भावना भएका नेतामा पर्नुभएको छ। गुटका हिसाबले कर्णालीमा नेताहरूको कित्ता अझै ‘क्लियर’ भएको देखिन्न।