एमाले लुम्बिनी प्रदेशको नेतृत्व चयन गर्न मतदान सुरु, आजै नतिजा आउने

बुटवल ः एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। विहान ८ बजेदेखि सुरु भएको मतदान दिउँसो १ बजेसम्म मात्र चल्नेछ। ८ बजेदेखि मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले जानकारी दिए।
यसअघि सोमबार रातिदेखि मतदान गर्ने भनिए पनि अन्तिम समयमा आन्तरिक तयारी नपुगेको र अध्यक्ष मण्डलले उज्यालोमा मतदान गर्न आग्रह गरेकाले समय सारिएको थियो। आगामी नेतृत्वका लागि पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका छन्।
पाँच पदाधिकारीमध्ये चार पदमा निर्वाचन हुँदैछ। यसबाहेक भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान हुनेछ।
१ बजेसम्म मतदान प्रक्रिया सक्ने र साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी रहेको एमाले लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले बताइन्। अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरिप्रसाद रिजाल प्रतिस्पर्धामा छन्। कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेल निकटका हुन्। कँडेल एमालेको लुम्बिनी प्रदेशको तदर्थ समितिका निवर्तमान अध्यक्ष हुन् भने रिजाल केन्द्रीय सदस्य हुन्।
उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल र बाँकेका पुजन विश्वकर्माको उम्मेदवारी परेको छ। उपसचिव खुलामा ४ र महिलामा ३ जनाको उम्मेदवारी परेको छ। रुकुम पूर्वका उपेन्द्रलाल कामी, बाँकेका दुर्गाप्रसाद थारू चौधरी, रोल्पाका पूर्ण बुढामगर र गुल्मीका हिरा एसीको उम्मदवारी परेको हो। यस्तै महिला उपसचिवमा बाँकेकी आरती पौडेल, वसन्ती अधिकारी र लीला रानामगरले उम्मेदवारी दिएका छन्।
यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे, गुणनिधि भुसाल र विष्णुराज बीसी गरी ३ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।










